कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुईजनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ७ घर भई हाल काठमाडौं गोकर्णेश्वर– ७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका– ४ घर भई गोकर्णेश्वर– ७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका छन् ।
पक्राउ परेकामध्ये तिमल्सिनाले ३० लाख ५० हजार तथा खोखालीले ११ लाख ५० हजार कामदार भिसामा युके पठाउने भन्दै एकजनाबाट ४२ लाख रकम लिई फरार रहेको उजुरीका आधारमा प्रहरीले आदर्शलाई आइतबार काठमाडौं महानगरपालिका– १२ बाट र आशिषलाई सोमबार पक्राउ गरेको हो।
हाल उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।