अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई ३ प्रश्न

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

अध्यागमनमा झमेलै झमेला छन् भन्ने गुनासा सुनिन्छन् नि ?
अहिले त्यस्तो ठुलो गुनासो त प्राप्त भएको छैन । कागजपत्र पूरा भएका कसैले पनि कुनै झमेला व्यहोर्नुपर्दैन । कसैलाई विनाकारण अवरोध गरिएको छैन । प्रविधिमा हुने समस्याले गर्दा लाम केही लामो हुनुचाहिँ अन्यथा होइन । यस्तो त संसारभर नै हुन्छ । कहिलेकाहीँ कर्मचारी बिदामा बस्दा पनि समस्या देखिन सक्छ ।  

भिजिट भिसामा सेटिङ रोकिएपछि विमान कम्पनीहरूले बोर्डिङ नदिई फिर्ता पठाइरहेका छन् भन्ने सुनिन्छ नि ?
यस्तो समस्या विगतमा पनि थियो तर खासै बाहिर आएको थिएन । म विभागमा आएदेखि यस विषयमा निरन्तर ‘फलो’ गरिरहेको छु । खाडीतिर जाने यात्रुबाट यस्ता गुनासा आएका हुनाले त्यता जाने सबै एयरलाइन्सलाई बोलाएर हामीले छलफल गरिसकेका छौँ । साथै, कसैको कागजात नपुगेर पठाउन नसकिने अवस्था छ भने त्यसको कारणसहित लिखित जानकारी दिन र विभागमा पनि विवरण पठाउन भनेका छौँ । राहदानी लिएर भिसा पाइसकेका यात्रुलाई कसैको तजबिजीका आधारमा रोक्न पाइन्न ।

अध्यागमन पुगिसकेपछि नागरिकले दु:ख नपाउने व्यवस्था मिलाउन सकिन्न ?
मजाले सकिन्छ । तर, यसका लागि अध्यागमन एक्लैले केही गर्न सक्दैन । श्रम, शिक्षा, ट्राभल एजेन्सीलगायत धेरै निकायले एकसाथ मिलेर काम गर्ने हो भने कसैले पनि अध्यागमन पुगेर फर्किनुपर्दैन । राहदानी दिँदा नै स्थानीय तहदेखि सिडिओ कार्यालयसम्मले यसबारे ध्यान पुर्याउनुपर्छ । भिसा लागेको राहदानी बोकेर अध्यागमन पुगेको यात्रुलाई अध्यागमनको ढोकामा रोकेर समस्याको समाधान हुँदैन । त्यसैले, हामीले यसबारे सचेत भइदिन अनुरोधसाथ ७५३ पालिकालाई नै पत्राचारसमेत गरिसकेका छौँ ।

सुझावित समाचार