सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीको राजीनामा स्वीकृतविरुद्धको मुद्दामा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
अध्यक्ष चौधरीले आफूले दिँदै नदिएको राजीनामा स्वीकृत गरेर अन्याय गरेको भन्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा गत २६ कात्तिकमा रिट दायर गर्दै परमादेशयुक्त उत्प्रेषणसमेतको माग गरेका थिए ।
सोमबार न्यायाधीश उज्ज्वल शुक्ला र अच्युतमकुमार आचार्यको संयुक्त इजलासले अध्यक्ष चौधरीले माग गरेअनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको आदेशमा उल्लेख छ । ‘निवेदकले परमादेशको समेत माग गरेको देखिँदा सो सम्बन्धमा पछि हुने निर्णय प्रभावित हुने गरी सुविधा तथा सन्तुलनको दृष्टिकोणसमेतबाट हाल निवेदन मागबमोजिम आदेश गरिरहनुपरेन,’ न्यायधीश शुक्ला र आचार्यद्वारा जारी आदेशमा उल्लेख छ ।
५ असोजमा अध्यक्ष चौधरीले राजीनामा दिएको भन्दै १८ कात्तिकमा बसेको गाउँकार्यपालिकाको बैठकबाट राजीनामा स्वीकृत गरिएको थियो । बैठककै निर्णयअनुसार गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी कार्यवाहक अध्यक्ष बनेकी थिइन् ।