ताप्लेजुङमा मनाइयाे चासोक तङ्नाम पर्व

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

ताप्लेजुङसहित देशका विभिन्न जिल्लामा लिम्बू समुदायले नयाँ अन्नबालीको पूजाका रूपमा मनाइने चासोक तङ्नाम पर्व मनाएका छन्।

किसानहरूले अन्नबाली घर भित्र्याउने र कुलदेवतालाई पहिले चढाउने परम्परालाई लिम्बू समुदायले चासोक भन्छन्। धान, कोदो वा अन्य अन्नबाली पाकेपछि यसको अंश चढाउने न्वागी संस्कार वर्षौँदेखि निरन्तर चलिआएको छ।

कोदोको बाला टिपेर जाँड तयार गरी देउतालाई चढाउने चलनलाई थिसोक भनिन्छ भने भात पकाई चढाउने प्रक्रियालाई चासोक भनिन्छ। लिम्बू समुदायका बिजुवाहरू घर–घर पुगी कुलदेवतालाई अन्न चढाउने विधि सम्पन्न गरिदिन्थे। याक्थुङचुम्लुङ ताप्लेजुङका अध्यक्ष हाङमाया लेछर्बोले  प्रत्येक घरमा नयाँ अन्न उपभोग गर्नुअघि अघिल्लो वर्ष पाकेको अन्नको अंश देउतालाई चढाउने परम्परा आज पनि यथावत रहेको बताए। कृषि–आश्रित जीवनशैली अपनाउने लिम्बूहरू प्रकृति र ऋतु परिवर्तनसँग घनिष्ठ रूपमा जोडिएका छन्।

चासोक तङ्नामलाई लिम्बूहरूले महान पर्वका रूपमा मान्छन्। यो उद्यौली याममा बालिनाली भित्र्याएर मनाइने न्वागी पर्व हो। ‘चासोक’को अर्थ नयाँ अन्न चढाउने पूजा र ‘तङ्नाम’को अर्थ पर्व हो। मुन्धुम ग्रन्थमा यसको उत्पत्तिबारे विस्तृत वर्णन पाइन्छ।

किराँत याक्थुङ चुम्लुङले प्रकाशित गरेको ‘किराँत चाड्स ः एक परिचय’मा उल्लेख भएअनुसार लिम्बू आदिम पुर्खाहरूले कन्दमूल खाएर जीवनयापन गर्दा पोषणहीनता र रोगबीमारले ग्रस्त हुने गरेको समयमा तागेरा निङवा भु माङसँग प्रार्थना गरेका थिए। सोही प्रार्थनाले गर्दा  कोदो, परामा, घैया, जुनेलोजस्ता बीउबिजन प्राप्त भएको विश्वास गरिन्छ। यी बीउ प्राप्त भएपछि सावायेहाङकी चेली सिबेरा एःक्थुम्माले पहिलोपटक खेतीपाती सिकाई नयाँ जीवनशैलीको सुरुवात गरेको मानिन्छ। अन्न फल्न शुरू भएपछि देवतासँग अनुमति लिएर मात्र खाने परम्परा बसेको लिम्बु मुन्दुमिहरु बताउँछन्।

यस वर्ष ताप्लेजुङमा किराँत याक्थुङचुम्लुङले मङ्सिर १८ गते सामूहिक चासोक तङ्नाम मनाउने तयारी गरेको सचिव सरोज कङ्लिवा लिम्बूले जानकारी दिए। लिम्बुले मंसिर महिनाभरी यो पर्व मनाउने भएकाले पनि आज मंसिर १ गते पनि यो मनाइएको बताए।

सुझावित समाचार