काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबिचको उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले २४ घण्टाभित्र सबै टिकट ‘सोल्ड आउट’ भएको जनाएको छ । साधारण टिकट पाँच सयदेखि हजार रुपैयाँसम्मको छ । क्यानले प्रिमियम टिकटको मूल्य हजारदेखि दुई हजार रुपैयाँसम्म राखेको छ । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।
क्यानले सिट संख्या निश्चित गरेकाले टिकट बिक्रीमा पनि सहजता आएको उनले बताए । क्यानले खल्तीलाई आठ हजार टिकट बेच्न दिएको हो । दुई हजारजति टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएको छ । क्यानले प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको हजार रुपैयाँ मूल्य राखेको छ ।
प्रिमियम टिकटको मूल्य उद्घाटन र शनिबार हुने खेलका लागि १५ सय रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य हजार रुपैयाँ रहेको छ । प्लेअफ तथा फाइनलका लागि प्रिमियर टिकटको मूल्य दुई हजार रुपैयाँ रहेको छ । क्यानले पहिलो चरणमा पहिलो ६ दिनका लागि टिकट खुला गरेको छ ।