इंग्ल्यान्डका ओपनर रोयले पोखराबाट खेल्ने

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट तीनवटै फम्र्याट खेलेका ओपनर ब्याट्सम्यान जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । पोखरामा आबद्ध विदेशीमध्ये रोय चर्चित खेलाडीमा पर्छन् । पोखराले सामाजिक सञ्जालमार्फत इंग्लिस खेलाडी रोयलाई अनुबन्ध गरेको जनाएको हो । ३५ वर्षीय रोय दायाँहाते ओपनिङ ब्याट्सम्यान हुन् । पोखराले यसअघि न्युजिल्यान्डका अलराउन्डर जिमी निसमलाई अनुबन्ध गरेको थियो । 

गत संस्करणका बार्बडियन अलराउन्डर रेमन रेइफरलाई यसपटक पनि निरन्तरता दिएको छ । त्यस्तै, इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेटले पनि पोखराबाटै खेल्नेछन् । रोयले इंग्ल्यान्डका लागि ६४ टी–२० आईमा एक हजार ५२२ रन बनाएका छन् । समग्र उनले टी–२० का ४१२ खेलमा १० हजार ५५४ रन बटुलेका छन् । टी–२० आईमा उनले ६ शतक तथा ६९ अर्धशतकीय इनिङ्स खेलेका छन् ।

उनले इंग्ल्यान्डको भाइटालिटी ब्लास्टसँगै भारतको इन्डियन प्रिमियर लिग, अस्ट्रेलियाको बिग बासलगायत विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलेका छन् । रोय भाइटालिटी ब्लास्टका सर्वाधिक सफल खेलाडीमा पर्छन् । उनले यस लिगका १४६ खेलमा चार हजार १९८ रन बनाएका छन् । रोयले इंग्ल्यान्डबाट ११६ एकदिवसीय खेलमा १२ शतक तथा २१ अर्धशतकीय इनिङ्सको सहयोगमा चार हजार २७१ रन जोडेका छन् ।

उनले अन्तिमपटक इंग्ल्यान्डबाट सन् २०२२ मा दक्षिण अफ्रिकाविरुद्ध टी–२० आई खेलेका थिए । नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृतराज दास र दिनेश खरेललाई रिटेन गरेको थियो । 

सुझावित समाचार