महाधिवेशन समयमै गर्न कांग्रेस बागमती प्रदेशको आग्रह

जेन–जी घटनाको छानबिन र निर्वाचन तयारीमा जोड

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश कार्यसमिति, प्रदेश संसदीय दल तथा प्रदेशका १३ जिल्ला सभापतिहरूको संयुक्त बैठकले पार्टीको १५औँ महाधिवेशन विधानअनुसार निर्धारित समयभित्रै सम्पन्न गर्न केन्द्रीय समितिसमक्ष औपचारिक माग गरेको छ। भक्तपुरको नगरकोटमा सम्पन्न बैठकले आन्तरिक लोकतन्त्र सुदृढ गर्न समयमै महाधिवेशन आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको हो।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा सम्पन्न बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा हुन लागेकाले विधानले तोकेको समयसीमा नाघ्नुअघि महाधिवेशन घोषणा गर्न आग्रह गरिएको बैठकले स्पष्ट पारेको छ। हाल केन्द्रीय कार्यसमितिको बैठक जारी रहेकाले बैठकबाट सर्वसम्मत रूपमा मिति टुंग्याउन बागमती प्रदेशले माग गरेको छ।

यस्तै, संयुक्त बैठकले २३ र २४ भदौमा भएको जेन–जी प्रदर्शनका क्रममा देखिएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ । शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी संरचना, उद्योग–व्यवसाय, न्यायालय तथा विभिन्न व्यक्तिका घरमा गरिएको तोडफोड, आगजनी र लुटपाटप्रति बैठकले दुःख व्यक्त गरेको छ। साथै, पार्टी सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणलाई अमानवीय र निन्दनीय ठहर गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

राष्ट्रपति पौडेलले खेलेको भूमिकाको प्रशंसा
जेन–जी घटनापछि उत्पन्न राजनीतिक संकट व्यवस्थापन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको बैठकले प्रशंसा गरेको छ।

प्रधानमन्त्रीको राजीनामापश्चात देश सरकारविहीन अवस्थामा पुगेका वेला संविधानसम्मत निकास दिएको भन्दै राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गरिएको छ । प्रतिनिधिसभा विघटन भई अन्तरिम सरकारले आगामी २१ फागुनका लागि निर्वाचन घोषणा गरिसकेको सन्दर्भमा पार्टीको आधिकारिक मार्गनिर्देशन केन्द्रीय कार्यसमितिको निर्णयले निर्धारण गर्ने पनि बैठकले स्पष्ट पारेको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै बागमती कांग्रेसले प्रदेशका पदाधिकारी, सदस्य र जिल्ला सभापतिहरूलाई मतदाता नामावली संकलनमा सक्रिय हुन निर्देशन दिएको छ। निर्वाचनमा मतदान गर्ने उमेर पुगेका सबै नागरिकको नाम दर्ता सुनिश्चित गर्न सामाजिक सञ्जालदेखि समुदाय तहसम्म प्रचार–प्रसार गर्न आग्रह गरिएको छ। 

संयुक्त बैठकले पारित निर्णयहरू तत्काल कार्यान्वयन गर्दै आगामी निर्वाचनका लागि संगठनलाई अझ सक्रिय र जिम्मेवार बनाउन प्रतिबद्धता जनाएको छ।

सुझावित समाचार