नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीलाई ‘ऐनामा आफ्नो अनुहार हेर्न’ भनेका छन्। आफ्नो पार्टीलाई ‘ज्येष्ठ नागरिकहरूको आश्रम’ भनेपछि खनालले ओलीलाई आफ्नो पार्टीतर्फ हेर्न सुझाव दिएका हुन्।
एकीकृत समाजवादीबाट पुनः एमालेमा फर्किएका नेताहरूलाई स्वागत गर्ने क्रममा ओलीले नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई ‘ज्येष्ठ नागरिकहरूको आश्रम’को संज्ञा दिएका थिए। आइतबार पेरिसडाँडामा बसेको पार्टीको अनौपचारिक बैठकपछि पत्रकारले सोधेको प्रश्नमा खनालले आफूहरूको पार्टी आमजनताको पार्टी रहेको जिकिर गरे।
‘यो पार्टी बुढापाकाहरूको पार्टी मात्र होइन, यो युवाहरूको पार्टी पनि हो, बच्चाहरूको पार्टी पनि हो, महिलाको पार्टी पनि हो, पुरुषको पार्टी पनि हो, आमजनताको पार्टी हो,’ खनालले भने, ‘यो पार्टीलाई कसैले पनि बुढापाकाको पार्टी नभने हुन्छ, बरु आफ्नो ऐना आफैँले हेर्नु सबैभन्दा राम्रो।’