हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी आमनेसामने हुने भएका छन्। आइतबार हेटौँडा– ६ स्थित गौरीटार रंगशालामा सम्पन्न सेमिफानलमा जित निकालेसँगै दुवै टिम उपाधि भिडन्तमा पुगेका हुन्।
पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको काँक्रेबिहार युथ क्लबलाई २–० ले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो। लालीगुराँसका लागि खेलको २०औँ मिनेटमा गोल गर्दै मुकुन्द कुमार निउरले टिमलाई अग्रता दिलाए। दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि पहिलो हाफमा थप गोल हुन सकेन। रोमाञ्चक खेलमा लालीगुराँसका राम थापाले खेलको अतिरिक्त समयमा गोल गर्दै टिमलाई २–० को जित दिलाए। खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने निउर ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
आइतबार नै भएको दोस्रो सेमिफाइनलमा चित्लाङले बाराको नव जागृती क्लबलाई रोमाञ्चक सडनडेथमार्फत् ९–८ गोल अन्तरले हराउँदै उपाधि होडमा कायम गर्न सफल भयो। निर्धारित ९० मिनेट र टाइब्रेकर दुवैमा ४–४ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथबाट भएको हो। खेलमा चित्लाङका गोलरक्षक विशाल केसी निर्णायक बने। उनले नव जागृतीको दुई प्रहार रोकेर टिमलाई फाइनलमा पु¥याए। उनी ‘प्लेयर अफ दि म्याच’ बने।
उपाधि भिडन्त मंसिर २ गते मंगलबार हुने छ। यसअघि सेमिफाइनलमा पुगेका चारै टिम राष्ट्रिय लिगका लागि छनोट भइसकेका छन्। लिग विजेताले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।