मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि नाै करोड ७० लाख रुपैयाँ संकलन भएको छ। आश्रमले आयोजना गरेको श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञमार्फत समापनको दिन शनिबार मात्र ७५ लाख रुपैयाँ संकलन भएको थियो।
कात्तिक २१ गतेदेखि बागलुङ नगरपालिका– ४, निरयघाटस्थित निर्माणाधीन अवस्थामा रहेको आश्रमपरिसरमा आयोजित महायज्ञमा देश तथा विदेशमा रहेकाहरूले सहयोग गरेका हुन्।
आयोजक समितिका अनुसार महायज्ञ अवधिभर जम्मा नाै करोड ७० लाख दान संकलन भएको हो। महायज्ञलाई भव्य रूपमा सफल बनाउने हजारौँ दाताहरूको योगदानले आश्रम निर्माण अभियानलाई महत्त्वपूर्ण सहयोग पुगेको महायज्ञ मूल आयोजक समितिका सहसंयोजक एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए। महायज्ञमा शुक्रबार एक करोड ३५ लाख दान आएको थियो भने सबैभन्दा बढी दान बिहीबार एक करोड ६५ लाख संकलन भएको खड्काले बताए।
दैनिक रूपमा भक्तजन, स्थानीयवासी र देश–विदेशबाट सहयोग गर्ने समुदायको निरन्तर सक्रियताका कारण महायज्ञ ऊर्जा, सहभागिता र समाजसेवाको उत्कृष्ट उदाहरण बनेको आश्रमले जनाएको छ।
महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष सरिता गौतमका अनुसार महायज्ञबाट १० करोड संकलन गर्ने लक्ष्य राखिएको थियो। हाल प्राप्त रकम लक्ष्यनजिक पुगेको उल्लेख गर्दै गौतमले अनलाइनमार्फत सहयोग आउने क्रम निरन्तर जारी रहेका कारण कुल रकम १० करोड पुग्ने विश्वास व्यक्त गरेको बताइन्।
महायज्ञमा केही दताहरूले एक कोठा नै निर्माण गर्ने प्रतिबद्धताअनुरूप सहयोग गरेका छन् भने केहीले नगदै सहयोग गरेको गौतमले बताइन्। संकलन भएको रकमबाट निर्माणाधीन अवस्थामा रहेको भवनको सम्पन्न र आश्रममा रहेकाहरूका लागि दैनिकी सञ्चालन गर्ने गरी अक्षयकोष सञ्चालन गरिने मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए।
दुई सयजना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो। मानवसेवा आश्रम बागलुङले साबिक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ। हाल आश्रममा ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन्। उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको अध्यक्ष अधिकारीले बताए।
भवन निर्माणका लागि हालसम्म पाँच करोड रुपैयाँ खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै चार करोड रुपैयाँ आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ। महायज्ञमार्फत संकलित रकमबाट भवन निर्माणको काम सम्पन्न गर्नुका साथै दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य लिइएको छ।
महायज्ञमा बागलुङ, पर्वत, म्याग्दीलगायत विभिन्न जिल्लाका भक्तजनका साथै विदेशमा बसोबास गर्ने नेपालीहरूले पनि सक्रिय सहभागिता जनाएका थिए। आश्रमको एक कोठा निर्माण खर्च पाँच लाख ११ हजार पर्ने भएकाले संस्थागत रूपमा समेत उल्लेखनीय सहयोग प्राप्त भएको आश्रमले जनाएको छ। महायज्ञ अवधिभर एक हजारदेखि ११ लाखसम्मका रकमहरू विभिन्न व्यक्तिहरू तथा संस्थाहरूबाट प्राप्त भएको बताइएको छ।