एनपिएल दोस्रो सिजन : न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल नेपाल आइपुगे

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि नेपाल आएका मार्टिन गप्टिललाई विराटनगरका व्यवस्थापक विजयकुमार धितालले स्वागत गरेका थिए । उनी लगातार दोस्रो सिजन विराटनगर किंग्सबाट एनपिएल खेल्दै छन्। 

गप्टिलसँग इन्डियन प्रिमियर, बिगबास, पाकिस्तान सुपर, मेजर क्रिकेट, इन्टरनेसनल  टी-२०, अबुधाबी टी-१०, क्यारेबियन प्रिमियर, द हन्ड्रेडजस्ता लिग खेलेको अनुभव छ ।

यस्तै, गप्टिलले १२२ टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई सतक र २० अर्धसतकसहित तीन हजार ५३१ रन प्रहार गरेका छन् ।

पुबुदु दासानायके प्रशिक्षक रहेको विराटनगरले विदेशी खेलाडीका रूपमा गप्टिलसँगै दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङसँगै र फाफ डुप्लेसिस, अस्ट्रेलियाका साम हिजलेट, अमेरिकाका सुभम रन्जाने तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।

टोलीको मार्कीमा सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी, टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको थियो ।  एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म हुँदै छ ।

सुझावित समाचार