सहरी विकासमन्त्री कुलमान घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताएका छन् । शनिबार काठमाडांैको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सडक मर्मत–सम्भारबारे स्थलगत निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाललगायत टोलीले गुह्ेश्वरीबाट सुन्दरीजलसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिएको थियो ।
काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौं उपत्यकाका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबिच सडक निर्माण तथा मर्मत–सम्भार देखिएको समन्वयको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता गरे । उनले थप भने, ‘गोकर्णेश्वर मन्दिरनजिक बागमती नदी बायाँ किनारको करिब एक सय मिटर सडकलाई फराकिलो बनाउन सकिएमा माकलबारीबाट सीधै गोकर्णेश्वर मन्दिरतर्फ सवारी गाडी पास गराउन सक्ने अवस्था रहेछ, सडक फराकिलो बनाउन नेपाल ट्रस्टको कार्यालयसँग आवश्यक समन्वय र सहजीकरण गरिनेछ ।’ चाबहिल–सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उनले आग्रह गरे ।