धान खरिद कोटा पुग्यो भन्दै खाद्यले कैलालीमा किसानलाई पठायो फिर्ता

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

धान खरिदको निर्धारित कोटा पूरा भएको भन्दै सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा किसानको धान खरिद गर्न बन्द गरेको छ । जिल्लाका ६ वटै डिपो (धनगढी, गौरीगंगा, भजनी, जोशीपुर, सत्ती र टीकापुर)बाट धान खरिद बन्द गरिएकोे खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले बताए । 

खाद्यले कैलालीबाट ३५ हजार क्विन्टल मोटो धान खरिद गर्ने कोटा तोकेकामा साढे ३१ हजार क्विन्टल धान खरिद भइसकेको छ । साढे चार हजार क्विन्टल धान खरिदका लागि पनि किसानलाई कुपन वितरण गरिएकाले थप धान खरिद बन्द गरिएको थापाले बताए । खाद्यले कुपन लिइसकेका किसानबाहेक अरू किसानबाट चार दिनयता धान खरिद बन्द गरेको हो ।

प्रादेशिक कार्यालय प्रमुख थापाले कैलालीमा धान खरिदको कोटा बढाउन केन्द्रलाई पत्राचार गरिएको बताए । ‘धान बिक्री गर्ने किसानको अत्यधिक भिड रहेकाले कोटा थपका लागि केन्द्रलाई पत्राचार गरेका छौँ,’ उनले भने, ‘केन्द्रले कोटा थप गरेर पठाए थप खरिद गर्छौँ ।’ 

खाद्यले मोटो धान प्रतिन्विन्टल तीन हजार ४६३.८१ रुपैयाँमा खरिद गर्छ । गल्ला व्यापारीले भने प्रतिक्विन्टल बढीमा दुई हजार ६ सयदेखि दुई हजार ७५० रुपैयाँसम्म खरिद गरिरहेका छन् । गत असोजमा गल्ला व्यापारीले किसानबाट प्रतिक्विन्टल दुई हजार ५५० रुपैयाँसम्ममा धान खरिद गरेका थिए ।

सरकारले खरिद बन्द गर्दा व्यापारीलाई सस्तोमा धान बेच्नुपर्ने बाध्यता आएको किसानको गुनासो छ । ६० क्विन्टल धान लिएर खाद्यको धनगढीस्थित मोहनपुर डिपो पुगेका गोदावरी नगरपालिका– १, गेटाका किसान सत्यराज रावलले धान बिक्री गर्न पाएनन् । खाद्यले नकिनेपछि उनी धान कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छन् । ‘कोटा सकियो भनेर कर्मचारीले धान फिर्ता लैजान भने, अब कहाँ गएर बेच्ने,’ उनले आक्रोश पोखे, ‘धान यहीँ छाडेर जाँदै छु, किने किन्ला, नकिने खाद्यले नै राखोस् ।’ उनी खाद्यको गोदामअगाडि त्रिपालमुनि धान राखेर फर्किएका छन् । धनगढी उपमहानगरपालिका– ८, का किसान राधेश्याम राना पनि मोहनपुर डिपोमा धान बेच्न नपाएर फर्किए । सरकारले नकिनेपछि व्यापारीलाई सस्तोमा धान बेच्नुपर्ने बाध्यता आएको उनले गुनासो गरे । ‘घरमा ७५ बोरा धान छ, यहाँ बिक्रीका लागि टोकन लिन आएको हुँ । कोटा सकिएकाले धान खरिद हुँदैन भनेर कर्मचारीले फर्काइदिए,’ रानाले भने, ‘गल्ला व्यापारीले सस्तोमा लिन खोज्छन्, अब कहाँ गएर बिक्री गरूँ ?’ खाद्यको मोहनपुर डिपो प्रमुख मुकुन्द पनेरूका अनुसार मोहनपुरमा मात्रै दैनिक १४–१५ जना किसान धान बिक्री गर्न नपाएर फर्कने गरेका छन् । वितरण भइसकेका कुपनबाहेक धान खरिदको थप कुपन नदिनु भन्ने निर्देशन आएकाले किसानलाई फर्काउने गरिएको उनले बताए । ‘बाहिर धान बोकेका २०–२२ वटा गाडी चार–पाँच दिनदेखि लाइनमा छन्,’ टीकापुर खरिद केन्द्र प्रमुख पुष्प बजगाईंले भने, ‘कोटा पूरा भएकाले उनीहरूलाई धान बिक्रीको पालो कुर्न कुपन दिन सकेनौँ । सम्बन्धित किसानलाई धान फिर्ता लैजान आग्रह गरिरहेका छौँ ।’ धान खरिद गर्नुपर्ने माग गर्दै स्थानीय किसान र अगुवाले खाद्यको भजनी खरिद केन्द्रमा शुक्रबार केहीबेर तालाबन्दी गरेका थिए । कञ्चनपुरको पुनर्वास नगरपालिका– ७, परासनका किसान कृष्णराज रानाले सरकारले नकिन्दा व्यापारीले भनेको मूल्यमा धान बेच्नुको विकल्प नभएको बताए । 

See More On

सुझावित समाचार