बिपी राजमार्गको पुनर्निर्माण सुरु

नेपाली निर्माण कम्पनीहरू फिल्डमा, जापानले भने फागुनदेखि काम थाल्ने

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको पिप्लेदेखि बर्खेखोलासम्मको खण्ड पुनर्निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) आगामी मार्च (फागुन–चैत)देखि फिल्डमा आउने भएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गर्न जापानले दुई अर्ब ६० करोड (२ अर्ब ८० करोड जापानी येन) अनुदान दिने सम्झौता १३ कात्तिकमा गरिसकेको छ । सम्झौताअनुसार पिप्लेदेखि बर्खेखोलासम्मको ३.२ किमि लामो सडकखण्डको पुनर्निर्माण जापान आफैँले गर्नेछ । त्यसका लागि जापानिज फागुन–चैतदेखि फिल्डमा आउने सडक विभागको एक उच्च अधिकारीले बताए । 

अहिले जाइकाले पुनर्निर्माणका लागि अन्तिम डिजाइन बनाउने काम गरिरहेको छ । जाइका आफैँले परामर्शदाता तथा इन्जिनियरिङ कम्पनी छनोट गरेर पुनर्निर्माणको डिजाइन गराइरहेको छ । अब जाइका र अर्थ मन्त्रालयबिच ‘माइन्युट अफ डिस्कसन’मा हस्ताक्षर हुनेछ । त्यसपछि जाइकाले सडक विभागमा डिजाइन पेस गर्नेछ, त्यो स्वीकृति भएपछि जाइका आफैँले निर्माण कम्पनी छनोट गर्नेछ । सम्भवत: त्यस्तो कम्पनी जापानिज नै हुनेछ । जाइकाले फेब्रुअरीको अन्तिमसम्म सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता गर्नेछ । ठेक्का सम्झौता गरेको कम्पनी मार्च–अप्रिलमा निर्माणको काम नै गर्ने गरी फिल्डमा आउने सडक विभागका एक अधिकारीले बताए । 

मुख्यत: १०–१२ असोज ०८१ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रे र सिन्धुलीमा पर्ने साढे ३० किमि सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्नेछ । त्यसमा जापानले आफ्नै खर्चमा पिप्लेदेखि बर्खेखोलासम्मको सडक पुनर्निर्माण गरिदिँदै छ । यद्यपि, ठेकदार कम्पनीको मूल्यांकनमा नेपालको प्रतिनिधि पनि समावेश गरिनेछ । यसैगरी, कर्मचारी पनि जापान आफैँले राख्नेछ । त्यसमा नेपालको भूमिका ‘मनिटरिङ’को मात्रै हुनेछ । त्यहाँ हुने कामका आधारमा विभागले बिल सिफारिस गर्नेछ । त्यसका आधारमा जापानले ठेकेदार कम्पनीलगायतलाई अनुदानअन्तर्गत सोझै भुक्तानी दिनेछ । त्योबाहेक बाँकी खण्ड भने नेपालले नै गर्दै छ ।

नेपाली कम्पनी फिल्डमा 
नेपाल आफैँले पुनर्निर्माण गर्ने खण्डमा भने भौतिक निर्माणको काम सुरु भइसकेको छ । नेपालले पुनर्निर्माण गर्ने खण्डलाई चार प्याकेजमा विभाजन गरेर काम गर्दै छ । त्यसमा गत असारमा ठेक्का सम्झौता गरिएका तीन प्याकेजमा तिहारपछि भौतिक निर्माणको काम सुरु भएको छ ।

चौथो प्याकेजको ठेक्का सम्झौता भने गत बिहीबार मात्रै भएको छ । त्यसमा पनि शुक्रबारदेखि नै ‘सर्भे’को काम सुरु भएको विभागको भनाइ छ । सडक डिभिजन, भक्तपुरका प्रमुख सुमन योगेशले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण सुरु भएको बताए । ‘तीन प्याकेजको ठेक्का गत असारमै भएको थियो । बर्खाका कारण त्यसवेला काम गर्न सकिएन होला । दसैँपछि काम सुरु गर्ने भनिए पनि बाढीपहिरो आउँदा मौसमअनुकूल देखिएन । त्यसबिचमा कम्पनीहरूले सर्भेलगायतका पूर्वतयारीका काम गरे । मौसम अनुकूल भएसँगै ठेक्का प्राप्त कम्पनीहरूले तिहारपछि विभिन्न मितिदेखि भौतिक निर्माणकै काम सुरु गर्नुभएको छ,’ उनले भने ।

भकुन्डेबेँसीदेखि चारसयबेँसीसम्म ११ किमि लामो सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । चारसयबेँसीदेखि डालाबेँसीसम्मको नौ किमि लाामो सडक बनाउन भने खानी–कमलजित–ए वान जेभीसँग एक अर्ब २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । काभ्रे जिल्लामा पर्ने यो खण्डको पुनर्निर्माणका लागि गत असारमै ठेक्का सम्झौता भएको थियो ।

सिन्धुली जिल्लामा पर्ने बर्खेखोलादेखि नेपालथोकसम्मको पाँच किमि लामो सडक पुनर्निर्माण गर्न भने खरीढुंगा–घिसिङ–क्षितिज जेभीसँग ५५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । गत असारमै यसको ठेक्का सम्झौता भएको हो । दुई वर्षमा काम सक्ने गरी यी तीन ठेक्का सम्झौता भएका थिए । ती तीनै ठेक्कामा भौतिक निर्माणको काम सुरु भएको छ । पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किमि लामो सडकको पुनर्निर्माणका लागि भने गत बिहीबार मात्रै ठेक्का सम्झौता भएको छ । उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग ६८ करोड ८० लाख ६८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । दुई वर्षमै काम सक्ने गरी ठेक्का सम्झौता गरिएको विभागको भनाइ छ ।

सुझावित समाचार