- वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा आइतबार र सोमबार आँखाको शल्यक्रिया गरिँदै
ताप्लेजुङमा ठुलो संख्यामा मोतीविन्दुसम्बन्धी बिरामी देखिएका छन् । फुङलिङस्थित आँखा उपचार केन्द्रमा दृश्य परीक्षण गर्दा मोतीविन्दुका कारण शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या धेरै देखिएको हो ।
तिलगंगा आँखा अस्पतालबाट पुगेको उपचार टिम, सामुदायिक आँखा उपचार केन्द्र र नेत्रज्योति संघ ताप्लेजुङ शाखाको टिमले शनिबार बिहानदेखि परीक्षण थालेको थियो । तीनदिने आँखा परीक्षण तथा शिविरको पहिलो दिन स्क्रिनिङ गर्दा मोतीविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी सख्या ४२ जना देखिएका छन् ।
अस्पतालका बाह्य कार्यक्रम अधिकृत महेश पराजुलीका अनुसार शनिबार १९७ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ४२ जनामा शल्यक्रिया गर्नुपर्ने देखिएको हो । परीक्षणमा ११२ जना महिला र ८५ जना पुरुष सहभागी थिए । उनीहरूको दृश्य जाँच्दा ४२ जनामा तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएपछि आइतबार शल्यक्रिया गरिँदै छ । उपकरण तथा चिकित्सक टिमसहित पुगेका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत र डा. सागर रुइतले शल्यक्रिया गर्नेछन् ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले आँखाको उपचार गर्ने भएपछि बिरामीको भिडसमेत लागेको छ । तीनदिने आँखा शिविरमा दुई सय हाराहारीको मोतीविन्दुको शल्यक्रिया हुने अनुमान गरिएको छ । त्यस्तै, एक हजार हाराहारीको आँखा परीक्षण हुनेछ । आँखा परीक्षण गर्दा जटिल समस्या देखिएका कतिपय बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा सिफारिस गरिनेछ ।
‘यसपटकको शिविरमा हामीले मोतीविन्दुलाई फोकस गरेका छौँ, मोतीविन्दुका बिरामी यस क्षेत्रमा धेरै भएकाले हामीले शिविर सञ्चालन गरेका हौँ, गत वर्ष पनि शिविर सञ्चालन गरिएको थियो, तर थुप्रै बिरामी छुट्नुभएको थियो, शिविरबाट कैयौँले गुमेको दृष्टि र उज्यालो पाउनुुहुनेछ,’ अस्पतालका बाह्य कार्यक्रम अधिकृत महेश पराजुलीले भने, ‘करिब दुई सयको संख्यामा मोतीविन्दुको उपचार हुने हाम्रो अनुमान छ, परीक्षण गर्दा ठुलो संख्यामा मोतीविन्दु देखिएको छ ।’
पराजुलीका अनुसार आइतबार र सोमबार शल्यक्रियाका साथै परीक्षण पनि गरिनेछ । शल्यक्रिया तथा परीक्षणका सबै किसिमका उपचार तथा सामग्री काठमाडौंबाटै ल्याइएको छ । आइतबार परीक्षण गर्दा मोतीविन्दुको समस्या देखिएका बिरामीको सोमबार शल्यक्रिया गरिनेछ । शनिबार परीक्षण गरिएका बिरामीको शल्यक्रिया आइतबार बिहानैदेखि गरिँदै छ । ग्रामीण तथा नजिक आँखा अस्पताल नभएका जिल्ला र क्षेत्रमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले शिविर सञ्चालन गरेर स्थानीयवासीको ज्योति फर्काउने अभियान चलाउँदै आएका छन् । केही समयअघि डोल्पामा पनि शिविर सञ्चालन गरिएको थियो । दूरदराज क्षेत्रका बासिन्दालाई उपचार पहुँच पुर्याउन उपकरण र शल्यक्रिया टिमसहित डा. रुइत विभिन्न जिल्लामा पुग्ने गरेका छन् । आँखा शिविरमा आउनेमध्ये अधिकांश ६० वर्षभन्दा माथिका छन् ।
शिविरमा कतिपय स्कुलका विद्यार्थीसमेत उपस्थित भएका छन् । कतिपय विद्यार्थीको सानैदेखि आँखाको ज्योति कमजोर भएकाले शिविरमा सहभागी गराएर उनीहरूको आँखा परीक्षण गरिएको पाँचथरस्थित जनकल्याण माविका शिक्षक सन्तोष घिमिरेले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा आँखाको विशेषज्ञ सेवासहितको अस्पताल छैन । उपचारका लागि काठमाडौं नै धाउनुपर्ने अवस्था छ । यसप्रकारको शिविरले टाढाटाढाका बासिन्दालाई सहज भएको शिक्षक घिमिरेले बताए ।
‘हामीलाई काठमाडौं पुग्न र उपचार गराउन सजिलो छैन, गाउँबाट सहरमा आउनै तीन–चार दिन लाग्छ, यस्तो ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालन हुँदा सहज भयो,’ उनले भने, ‘पछिल्लो समय स्कुले विद्यार्थीहरूमा आँखाको समस्या बढ्दो छ, बढी मोबाइललगायतका डिभाइस प्रयोग गर्न आँखा बिग्रने गरेका छन् ।’ आँखा शिविरमा सहकार्य गरेको डेचन डोङ्ला मेमोरियल आइकेयर सेन्टरका प्रमुख काजीमान गुरुङले जिल्लामा आँखासम्बन्धी बिरामीको संख्या अत्यधिक भएकाले शिविर सञ्चालन भएको जानकारी दिए ।