दुई महिनादेखि कोशीका मुख्यमन्त्री कार्कीको वास प्रहरी गेस्टहाउसमा

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण
दुई महिनादेखि कोशीका मुख्यमन्त्री कार्कीको वास प्रहरी गेस्टहाउसमा

जेन–जी आन्दोलनमा आगजनी गरिएको कोशी प्रदेशका मुख्यमन्त्रीको निवास

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की दुई महिनादेखि प्रहरीको गेस्ट हाउसमा बस्दै आएका छन् । विराटनगरको कोशी प्रोजेक्टस्थित निवास जेन–जी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले आगजनी र तोडफोड गरेर बस्न नमिल्ने गरी क्षति पुर्याएपछि उनी दुई महिनादेखि विराटगरको रानीस्थित प्रदेश प्रहरीको गेस्ट हाउसमा बस्दै आएका हुन् । 

जेन–जी आन्दोलन विध्वंशमा परिणत भएपछि विराटनगरको रोडशेष चोकस्थित मन्त्रिपरिषद्को कार्यालयबाट निस्किएका मुख्यमन्त्री कार्की एक सातासम्म सम्पर्कमा आएका थिएनन् । अवस्था अनुकूल भएपछि मात्र सार्वजनिक भएका र हालसम्म कडा सुरक्षा घेरामा बस्दै आएका कार्की आफ्नो निवासमा भने अझै बस्न पाएका छैनन् । 

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको मुख्यमन्त्रीको निवास कोशी सरकारको भौतिक निर्माण मन्त्रालयले विशेष अवस्थाअन्तर्गत २० लाखको कोटेसनमा धमाधम पुनर्निर्माण भइरहेको छ । ठेकेदारका अनुसार मुख्यमन्त्रीनिवास बस्ने गरी तयार हुन मंसिर दोस्रो साता लाग्नेछ । 

राजनीतिक विश्लेषक तथा अन्य दलका नेताहरू भने मुख्यमन्त्रीजस्तो व्यक्ति दुई महिनासम्म प्रहरीको ब्यारेकभित्र रहेको गेस्ट हाउसमा बसिरहनु उचित नहुने बताउँछन् । ‘अवस्था सहज भएसँगै विराटनगरमा घरभाडा लिएर बसेको भए सन्देश राम्रो जाने थियो, तर मुख्यमन्त्री कार्की निकै डराएको देखियो । अहिले पनि उनी प्रहरीको कार्यालय र ब्यारेकसँगै रहेको गेस्ट हाउसमा बसिरहेका छन् । कडा सुरक्षा घेरामा घुमफिर गरिरहेका छन्, यसले राम्रो सन्देश गएको छैन,’ मन्त्रिपरिषद् कार्यालयकै एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने । 

नेपाली सेनाको युनिटले सुरक्षा प्रदान गर्ने गरेको कोशीका मुख्यमन्त्रीनिवास जेन–जी आन्दोलनमा बन्दुकुधारी सेनाकै अगाडि आगजनी र तोडफोड भएको थियो । २४ भदौमा जेन–जी आन्दोलनमा ध्वंश सुरु हुँदा मुख्यमन्त्री कार्की मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आफ्नै कक्षमा थिए । मन्त्रिपरिषद् कार्यालय पनि जलाइने सूचना पाएपछि उनी दिउँसो २ बजेतिर टेम्पो चढेर चार किमि दक्षिण रानीमा रहेको प्रदेश प्रहरी कार्यालयमा शरण लिन गएका पुगेका थिए । २५ भदौमा उनी कडा सुरक्षामा सुनसरीको इटहरीस्थित नेपाली सेनाको पृतनामा बस्न पुगेका थिए । प्रत्यक्षदर्शी कर्मचारीका अनुसार कार्यालयबाट निस्किएर कडा सुरक्षा घेरामा नगएको भए अराजक समूहले मुख्यमन्त्री कार्कीमाथि पनि आक्रमण गर्ने सम्भावना धेरै थियो । मुख्यमन्त्री कार्की दिउँसो २ बजेतिर निस्किएर सुरक्षाकर्मीको शरणमा गएपछि आन्दोलनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी र तोडफोड गरेर उनको कार्यकक्षसहित भवन पनि ध्वस्त बनाएका थिए । जेन–जी आन्दोलनपछि भदौ महिनाभरि मुख्यमन्त्री कार्की फोनमा समेत सम्पर्कविहीन भएका थिए । 

जेन–जी आन्दोलनका क्रममा २४ भदौमा विराटनगरमा कोशी प्रदेश सभा, सिडिओ कार्यालय, महानगरपालिकाको मुख्य भवन र वडा कार्यालय, भाटभटेनी सुपर मार्केट, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सरकारका सबै मन्त्रालय र संघ प्रदेश सरकारका प्राय: सबै कार्यालय जिल्ला र उच्च अदालतलगायतका सार्वजनिक र निजी संरचनामा आगजनी र तोडफोड भएको थियो । कोशी प्रदेश सभा कार्यालय भने कृषि थोक बजारको भवनमा स्थापना गरिएको छ । 

सुझावित समाचार