- व्यापार ग्राह्यता सुविधाको म्याद डेढ महिनामा सकिँदै, ७७ वस्तुमा भन्सार छुट सुविधाको म्याद थपका लागि भएन प्रभावकारी पहल
अमेरिकाले दिएको विशेष व्यापार ग्राह्यता सुविधाको अपेक्षित लाभ लिन नसकेको नेपालले सुविधाको निरन्तरताका लागि म्याद थपको प्रभावकारी पहल पनि थालेको छैन । १० वर्षका लागि प्राप्त यस्तो सुविधाको म्याद ३१ डिसेम्बर २०२५ सम्म छ । अमेरिका नेपालको दोस्रो ठुलो निर्यात गन्तव्य मुलुक हो ।
०७२ फागुनमा अमेरिकी सरकारले कानुन ल्याएर नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटिपिपी)मार्फत नेपालका ६६ वस्तुलाई भन्साररहित सुविधा दिएको थियो । त्यसको एक वर्षपछि भन्साररहित सुविधा पाउने सूचीमा ११ वस्तु थपिए । जसअनुसार नेपालका ७७ वस्तुमा अमेरिकाले शून्य भन्सार लगाउँछ ।
व्यापार ग्राह्यता पाएपछि अमेरिकामा नेपालको निर्यात बढ्ने अपेक्षा थियो । तर, एक दशकका लागि प्राप्त सुविधा सकिनै लाग्दासमेत नेपालले अपेक्षाकृत निर्यात बढाउन सकेन । १० वर्षमा नेपालले वार्षिक औसत साढे १३ अर्ब रुपैयाँबराबर निर्यात मात्रै गरेको छ । त्यसमा पनि भन्सार सुविधा पाएका ७७ वस्तुको हिस्सा जम्मा ३.८ प्रतिशत मात्रै छ । जसका कारण अमेरिकासँगको व्यापार घाटा बढ्दै गएको छ । म्याद थप भएन भने अहिले सुविधा पाएका ७७ वस्तुमा समेत जनवरीदेखि भन्सार लाग्नेछ ।
अमेरिकाले भन्सार सुविधा दिएका ७७ वस्तु नौ समूहका छन् । जसमा छाला, कटन, प्लास्टिक, वनस्पतीलगायतबाट बनेका लगेज, सुटकेस, हेडब्यान्ड, निडलक्राफ्ट, ह्याट्स, पन्जा, सल, गलबन्दी वा यात्रामा प्रयोग हुने ब्ल्याङकेट, कार्पेट, ट्राभल ब्याग, पकेट गुड्सलगायत पर्दछन् । तुलनात्मक रूपमा नेपालले बढी निर्यात गर्ने सम्भावना भएका वस्तुहरूले भन्सार सुविधा नपाएका कारण अमेरिकाले दिएको सुविधाबाट अपेक्षित लाभ लिन नसकिएको नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे बताउँछन् । ‘हामीले १४ देखि ३४ प्रतिशत भन्सार महसुल लाग्ने समूहमा पर्ने वस्तुहरूका लागि सुविधा माग गर्दै आएका थियौँ, अहिले पनि त्यही माग हो,’ उनले भने, ‘तर, भन्सार महसुल तिर्दा पनि ४ देखि १० प्रतिशत मात्रै पर्ने समूहमा रहेका वस्तुले मात्रै सुविधा पाएका कारण अपेक्षित लाभ लिन सकिएन ।’ पाइन्ट, सर्ट, टिसर्टजस्ता तयारी पोसाकले पनि सुविधा प्राप्त गर्ने हो भने धेरै निर्यात गर्न सकिने उनको भनाइ छ ।
नेपालले ग्राह्यता सुविधाको उचित लाभ लिन नसक्नुमा बढी निर्यात हुने वस्तु सुविधाको सूचीमा नपर्नु, गुणस्तर वृद्धि र प्याकेजिङमा सरकारले सहयोग नगर्नु कारण रहेको सरोकारवाला बताउँछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अध्ययनअनुसार अमेरिकामा हुने कुल निर्यातमा भन्सार सुविधा पाएका ७७ वस्तुको हिस्सा जम्मा ३.८ प्रतिशत मात्रै छ । अमेरिकाले तयार पारेको एनटिपिपी कार्यक्रमको सन् २०२४ को रिपोर्टमा नेपालले सात वर्षमा कुल ३९ लाख अमेरिकी डलरबराबरको निर्यात गरेको र त्यसमा ग्राह्यता पाएका वस्तुको हिस्सा २.९ प्रतिशत मात्रै रहेको उल्लेख छ ।
म्याद र सुविधा पाउने वस्तुको सूची थप्न विगत डेढ–दुई वर्षदेखि नै पहल गर्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव विपिन आचार्यले बताए । ‘नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटिपिपी)अन्तर्गत अमेरिकाले दिएको व्यापार ग्राह्यता सुविधाको म्याद सकिन अब डेढ महिनाजति मात्रै बाँकी छ । तर, हामीले एक–दुई वर्षअघिदेखि नै म्याद थपका लागि आग्रह गर्दै आएका छौँ । गत वर्ष भएको टिफा बैठकमा समेत म्याद थपका लागि आग्रह गरेका थियौँ,’ उनले भने, ‘उहाँहरूले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । अहिले पनि कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको छ । अमेरिकास्थित नेपाली राजदूतावासले पनि यसमा पहल गरिरहेको छ । सुविधाको म्याद र सुविधा पाउने वस्तुको सूची थप हुनेमा आशावादी छौँ ।’
अन्तर्राष्ट्रिय व्यापार मामिलाविज्ञ डा. पोषराज पाण्डेले अमेरिकाले एनटिपिपीअन्तर्गत दिएको सुविधा उपयोग गर्न नेपाल चुकेको बताए । ‘अमेरिकाले दिएको सुविधा उपयोग गर्न निजी क्षेत्र चुक्यो र समग्रमा नेपाल नै चुक्यो । अमेरिकामा भएको नेपालको कुल निर्यातमा एनटिपिपीअन्तर्गतका ७७ वस्तुको हिस्सा चार प्रतिशतभन्दा तल देखिन्छ । निजी क्षेत्रले उत्पादन तथा निर्यात विविधिकरण गर्न सकेन र सरकारले पनि आवश्यकताअनुसार सहजीकरण गर्न सकेन,’ उनले भने, ‘अहिले त अमेरिकाले नेपाललाई १० प्रतिशत भन्सार लगाएको छ, यो सुविधाअन्तर्गतका वस्तुमा पर्छ कि पर्दैन ? त्यो बुझ्नुपर्छ । यदि उपयोग गर्न सकिँदैन भने त्यस्ता अवसर नलिएको राम्रो, उपयोग गर्न सकिने सहयोग सुविधा लिन जोड दिनुपर्छ ।’
अमेरिकामा १० वर्षमा वार्षिक औसत साढे १३ अर्ब रुपैयाँबराबरको निर्यात, भन्सार सुविधा पाएका ७७ वस्तुको हिस्सा जम्मा ३.८%
अमेरिकाले भन्सार सुविधा दिएका ७७ वस्तु नौ समूहका छन् । जसमा छाला, कटन, प्लास्टिक, वनस्पतिलगायतबाट बनेका लगेज, सुटकेस, हेडब्यान्ड, निडलक्राफ्ट, ह्याट्स, पन्जा, सल, गलबन्दी वा यात्रामा प्रयोग हुने ब्ल्यांकेट, कार्पेट, ट्राभल ब्याग, पकेट गुड्सलगायत पर्दछन् । तुलनात्मक रूपमा बढी निर्यात गर्ने सम्भावना भएका वस्तुहरूले भन्सार सुविधा नपाएका कारण नेपालले अपेक्षित लाभ लिन सकेको छैन । पाइन्ट, सर्ट, टिसर्टजस्ता तयारी पोसाक नेपालले बढी निर्यात गर्न सक्ने उत्पादन हुन् । तर, यी वस्तुमा भन्सार सुविधा छैन ।