‘गजलसँग...’ मा सुनिए चार स्रष्टा

शनिबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

गजल मञ्च चितवनले नियमित रूपमा सञ्चालन गर्दै आएको ‘गजलसँग...’ शृङ्खलाको यो एघारौँ अङ्कमा ४ जना गजलकारले गजल प्रस्तुत गरेका छन् । शनिबार दिउँसो नारायणी किनार गैंडाकोटमा गरिएको कार्यक्रममा ४ जना स्रस्टालाई गजल प्रस्तुत गर्न उभ्याइएको थियो । गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा, काठमाडौंबाट आएका बाबु त्रिपाठी, विराटनगरबाट आएकी बबिता भुजेल र देवघाटबाट आएका एसआर दुवाडीले एउटै मञ्चमा बसेर गजल सुनाए ।

ती सबै सर्जकले तीन चरणमा गरी छ–छ वटा गजल सुनाए । वाचनसँगै गायन शैलीमा पनि प्रस्तुत गरिएको कार्यक्रमलाई दर्शकले निकै मन पराए । गजल मञ्च चितवनले नयाँ सर्जकलाई प्रोत्साहन र अनुभवीलाई सम्मान गर्ने उद्देश्यले यस्तो शृङ्खला निरन्तरता दिँदै आएको छ । विविध भौगोलिक क्षेत्रका प्रतिनिधि सर्जकलाई एकै मञ्चमा ल्याइनुले गजल लेखनको दायरा फराकिलो बन्दै गएको मञ्चका अध्यक्ष रामकृष्ण अनायासले बताए ।

मञ्चका उपाध्यक्ष कमल अर्यालका अनुसार यस्ता कार्यक्रमले नयाँ सर्जकको आत्मविश्वास र सिर्जना क्षमतामा वृद्धि भएको छ । ‘गजल यात्रामा लागेकालाई एक ठाउँमा ल्याउने हाम्रो प्रयासले युवामा सक्रियता बढाएको छ,’ उनले बताए । मञ्चका सचिव प्रमिला सानुले विभिन्न कार्यक्रममार्फत करिब दुई दशकको यात्रामा संस्थाले धेरै प्रतिभा अगाडि ल्याउन सहयोग गरेको बताइन् ।

विशेषतः गजल विधाको प्रवर्द्धनका लागि स्थापना भएको गजल मञ्च चितवनले प्रत्येक वर्ष छुट्टै प्रकारका गजल–केन्द्रित कार्यक्रम गर्दै आएको छ । गत वर्ष २०८२ को जेठ १७ गते माडीस्थित सोमेश्वर गढीको फेदीमा ‘गढीमा गजल’ कार्यक्रम समेत मञ्चले गरेको थियो ।

यस्तै, यहाँका अन्य संस्थाले पनि समयसमयमा गजलमाथि केन्द्रित कार्यक्रम आयोजना गर्दै आएका छन् । २०८१ पुस २७ गते कविडाँडा साहित्य समाजले आयोजना गरेको ‘कविडाँडा राष्ट्रिय गजल उत्सव–२०८१’मा डा कृष्णहरि बराल, डा घनश्याम न्यौपाने ‘परिश्रमी’, बुँद राना, गोविन्दराज विनोदी, ज्ञानुवाकर पौडेललगायत प्रतिष्ठित सर्जकको उपस्थिति थियो ।

सुझावित समाचार