एमालेको महाधिवेशनको सरगर्मी बढिरहेका वेला पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमार्फत अध्यक्षमा केपी ओलीलाई टक्कर दिने गरी वार्मअप थालेकी छिन् । अध्यक्ष केपी ओलीले तेस्रोपटक नेतृत्व लिने योजनासहित तयारी गरिरहेकै वेला नेतृत्व हस्तान्तरणमा सहमति नजुटे उनलाई टक्कर दिने तयारी भण्डारीले पोखरेलमार्फत दिएकी हुन् । साथै, गत भदौमा भएको विधान महाधिवेशनबाट पारित दस्ताबेजमा पुन: छलफल, पुन: अनुमोदन गर्न दबाब बढाउने भण्डारी समूहको योजना छ । जबकि अघिल्लो साता अध्यक्ष ओलीले आफूलाई निर्विकल्प सर्वसम्मत अध्यक्षका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माणबाहेक कुनै पनि विषयमा छलफल हुन नसक्ने सन्देश दिएका थिए ।
पोखरेलले ११औँ महाधिवेशनमा भण्डारीको सहयोगमा अलग्गै समूह बनाएर प्रतिस्पर्धा गर्ने गरी तयारी गरिरहेका हुन् । पोखरेलले पहिलोपटक औपचारिक रूपमा मुख खोलेर शुक्रबार नीति र नेतृत्वमा परिमार्जन आवश्यक रहेकाले पार्टी पंक्तिलाई बहसमा सामेल हुन सन्देश जारी गरेका छन् । यो अपिल जारी गर्नुअघि पोखरेलले पूर्वराष्ट्रपति भण्डारीसहित उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराईलगायत पदाधिकारी, स्थायी समिति, केन्द्रीय कमिटी सदस्य, पार्टीको नीतिमा प्रभाव पार्न सक्ने व्यक्तित्वलगायतसँग आन्तरिक छलफल गरेको उनीनिकट नेताहरूको भनाइ छ ।
अब बस्ने केन्द्रीय सचिवालय बैठकमा पोखरेलले ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने कारण र आफूलाई सहयोग गर्न आग्रह गर्दै एघारौँ महाधिवेशनमा नेतृत्वमा दाबी गर्ने विषय र आधारहरूबारे खुलेर धारणा राख्ने तयारी गरिरहेका छन् । त्यसैको वार्मअपका लागि पनि उनले अपिल जारी गरेको निकटस्थ नेताहरूको भनाइ छ ।
भण्डारी र पोखरेललाई साथ दिइरहेका सचिव गोकर्ण विष्टले विकसित घटनापछि नीति र नेतृत्व दुवैमा पुनर्गठन अनिवार्य भएकाले मुद्दामा सहमति नबने आन्तरिक प्रतिस्पर्धा हुने बताए । ‘२३ र २४ भदौको विकसित घटनापछि यथास्थितिबाट पार्टी चल्दैन, पुनर्गठन हुनुपर्छ । नयाँ ढंगले पार्टीलाई लैजाने विषयमा सहमति भएन भने विकल्परहित ढंगले जान सकिँदैन, त्यस्तो अवस्थामा ११औँ महाधिवेशनबाट स्वाभाविक रूपमा प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन सक्छ,’ विष्टले नयाँ पत्रिकासँग भने ।
पोखरेलले महाधिवेशन प्रतिनिधि छनोटमा संस्थापन पक्षबाट हुन सक्ने हस्तक्षेप वा धाँधलीतर्फसमेत सचेत भएर निर्भयतापूर्वक सहभागी हुन पोखरेलले पार्टी पंक्तिलाई अपिल पनि गरेका छन् । ‘महाधिवेशन प्रतिनिधिको छनोट १३ मंसिरमा देशभर हुँदै छ । जबजको संठनात्मक सिद्धान्तअनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु,’ उनको अपिलमा भनिएको छ ।
ओलीलाई पोखरेलको जवाफ
गत २०–२२ भदौमा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्तावलगायत दस्ताबेज पारित गरिएको थियो । तर, २३–२४ भदौपछि परिस्थितिमा व्यापक परिवर्तन आएको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांठनिक प्रस्ताव, विधानलगायत विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता औँल्याएका छन् ।
‘राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद्जस्ता संस्थासमेत हिजोको अवस्थामा छैनन् (रहेनन्),’ ओलीलाई जवाफ फर्काउँदै अपिलमार्फत पोखरेलले भनेका छन्, ‘यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्ग निर्देशन गर्न सक्तैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ । २३ भदौ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ ।
सचिव गोकर्ण विष्टले पनि एमाले विधान महाधिवेशनले पारित गरेको कार्यदिशा, विधान र संगठनात्मक प्रस्तावमाथि विकसित परिस्थितिमा छलफल, परिमार्जन आवश्यक रहेको बताए । ‘अबको राजनीति कता जाँदै छ भनेर सही विश्लेषण नगरेर कार्यदिशा बन्दैन, सही कार्यदिशा बनेन भने आगामी यात्रा सुनिश्चित हुन सक्दैन, त्यसैले विधान महाधिवेशनबाट पारित दस्ताबेजलाई परिमार्जन गरेर समृद्ध बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने । तर, अध्यक्ष ओलीले दोस्रो विधान महाधिवेशनमा दस्ताबेज पारित भइसकेको र ११औँ महाधिवेशनमा कुनै दस्ताबेज पेस नहुने बताइसकेका छन् । २५ कात्तिकमा आयोजित पार्टी कार्यक्रममा ओलीले भनेका थिए, ‘राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान पास भइसकेको छ । मैले उद्घाटन मन्तव्य राख्छु, त्यसपछि महाधिवेशन सोझै नेतृत्व चयनमा जान्छ ।’
२७ देखि २९ मंसिरमा आयोजना हुने राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वबारे छलफल र बहसको गुञ्जायस नरहेको बताएर विरोधीलाई निषेधको नीति लिएको सन्देश ओलीले दिएका थिए । तर, वरिष्ठ उपाध्यक्ष पोखरेलले काउन्टर जवाफ फर्काउँदै २३ र २४ भदौको जेन–जी विद्रोहपछिको विकसित परिस्थितिका सन्दर्भमा पार्टीको नीति र नेतृत्व दुवै विषयमा छलफल आवश्यक रहेको प्रस्ट्याएका छन् । यति मात्र होइन, महाधिवेशन प्रतिनिधि छनोटमा निर्भयताका साथ सहभागी हुनसमेत पार्टी पंक्तिलाई ध्यानाकर्षण गराएका छन् ।
पोखरेलले जेन–जी आन्दोलनका क्रममा व्यक्त भएको नवयुवा पुस्ता र आमजनताको आकांक्षा, आशा, असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि नसकिने बताउँदै सबैले अहंकार त्यागेर विश्वास र आशा निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ‘त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरुरी छ । सोहीअनुसार हाम्रो विचार, कार्यशैली र भविष्यका योजनालाई अद्यावधिक गर्न जरुरी छ । राष्ट्रिय जीवनमा गम्भीर क्षति पुर्याएको २४ भदौको विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न सकिँदैन । त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौँ । त्यसका लागि हामी सबैले आग्रह, पूर्ववत् अडान, अहंकारलाई त्यागेर नयाँ विश्वास र नयाँ आशा निर्माण गर्न सक्नुपर्छ,’ उनको अपिलमा उल्लेख छ ।