नवलपुरको कावासोती– ३ मा निर्माणाधीन नमुना सदरमुकाममा भौतिक संरचना निर्माणका लागि प्रयोग गरिने अर्बौँको ढुंगामा करोडौँको राजस्व छली गरेको पाइएको छ।नमुना सदरमुकाममा ढुंगा आपूर्तिको जिम्मा पाएको कावासोतीका क्रसर व्यवसायी हेमुशंकर देवकोटाले विनाबिलबिजक, स्टक प्रमाणितसमेत नगरेका चोरीका ढुंगाहरू बिक्री गरेका छन्।
जिल्ला प्रशासन र सम्बन्धित पालिकाले कामको अनुगमन नगर्दा यस्तो भएको पाइएको हो। सम्बन्धित पालिकाका कर्मचारी, प्रहरी, प्रशासन, ठेकेदारका साथै भवन निर्माण हेर्ने निकाय सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयका कर्मचारीहरूसहितको मिलेमतोमा यस्तो भएको पाइएको हो। स्थानीय क्रसर व्यवसायी एवं ठेकेदार हेमुशंकर देवकोटाले उक्त निर्माण क्षेत्रमा ढुंगा आपूर्तिको जिम्मा लिएका छन् । नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यस विषयमा आफूले सम्बन्धित व्यापारी देवकोटसँग कुराकानी गरेको र उसले उक्त ढुंगाको कागजपत्र पुर्याउन नसके प्रशासनले जफत गर्ने जनाए ।
पाण्डेले भने, ‘नमुना सदरमुकाम निर्माणको काम पनि रोकिन भएन, काम गर्ने बहानामा राजस्व छली, अवैध उत्खनन तथा चोरी–निकासी पनि हुनुभएन । यदि उसले ढुंगा कहाँबाट कसरी ल्याएको प्रमाणित गर्न नसके जफत हुन्छ।’ नवलपुर जिल्लामा गत वर्ष खोलामा गिटी–बालुवाको ठेक्का खुल्दासम्म नमुना सदरमुकाममा नदेखिएको यत्रा ढुंगा, खोला ठेक्का बन्द भएपछि रातारात थुप्रिएका हुन्। नमुना सदरमुकाम निर्माण स्थलमा गाउँबाट हेर्दा देखिने स्थानमा बारबेर गरेर काम गरिएको भए पनि ढुंगा ल्याउने स्थानमा भने चोरी गरेर थुपार्न मिल्ने गरी खुला राखिएको छ ।
यो ढुंगा कावासोतीको केरुंगे खोला, पत्थर खोला, हुप्सेकोटको गिरुबारी खोलालगायतका खोलाहरूबाट चोरी गरी ल्याएको खुलेको छ। स्थानीय क्रसर व्यवसायी एवं ठेकेदार हेमुशंकर देवकोटासँग यस विषयमा कुरा गर्दा उनले कुनै प्रतिक्रिया दिएनन्। उनले यस विषयमा भेटेरै कुरा गर्ने भन्दै तर्किए। कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले आफूहरूले यस विषयमा अध्ययन गरिरहेको जानकारी दिए । उनले भने, ‘निर्माणको नाममा राजस्व छली हुनुभएन।’
प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आफूले यस विषयमा प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित पक्षसँग छलफल गरिरहेको जानकारी दिए। सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कृष्णकुमार महर्जनले आफूहरूले समान कहाँबाट कसरी ल्यायो भन्दा पनि ठेक्काअनुसार काम भए–नभएको मात्रै हेर्ने विषय भएकाले यस विषयमा खासै जानकारी नभएको बताए। उनले भने, ‘निर्माणको नाममा प्राकृतिक स्रोत–साधनको दोहन हुनुभएन । त्यसैले हामीले स्थानीय पालिका र प्रशासनलाई यस विषयमा अनुगमन गर्न अनुरोध गरेका छौँ ।’
करिब १८० बिघा क्षेत्रफलमा नमुना सदरमुकामभित्रका भवनहरू निर्माण कार्य अहिले धमाधम चल्दै छ। यहाँ दुईपटक गरी लागेको ठेक्काबाट नाैवटा कार्यालय भवनका साथै सभाहल, गेट, कम्पाउन्डवाल, केरुंगे खोलामा तटबन्ध, सडक कालो पत्रेलगायतका काम हुँदै छ। दुई फरक निर्माण कम्पनीले काम थालेको हालको आयोजनाको लागत पाँच अर्ब २१ करोड रहेको छ। नमुना सदरमुकामको डिपिआरबमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार लाग्ने अनुमान गरिएको छ ।
संघीय सरकारअन्तर्गतको जिल्ला प्रशासन कार्यालय, नवलपुर जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, सभा हल र चारवटा एकीकृत भवनको काम अघि बढिरहेको छ। कावासोती नगरपालिकाले अवैध ढुंगा खरिद गरेको सम्बन्धमा ठेकेदार कम्पनी समानान्तर जेभीलाई पत्र काट्ने तयारी गरेको छ। ढुंगा आपूर्तिको जिम्मा पाएको व्यापारी हेमुशंकर देवकोटा जिल्ला प्रशासन कार्यालयबाट कागज पत्र मिलाइदिन भन्दै जिल्ला प्रशासन धाउने गरेको र एकजना अधिकृतमार्फत प्रमुख जिल्ला अधिकारीसँग कुरा मिलाउन धाइरहेकोसमेत खुलेको छ ।