तेस्रो संस्करणको पोखरा इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सुरु भएको छ । डाउन टिल डस्कको आयोजना, पोखरा महानगरपालिका–१३ कास्की जिल्ला साइक्लिङ संघको समन्वयमा सुरु रेस २९ कार्तिकसम्म चल्नेछ ।
पोखरा महानगरपालिका–१३ को आर्बा–बिजय डाँडामा आयोजना गरिएको रेसको पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले उद्घाटन गरेका थिए ।
तीन दिने रेसमा नेपालसँगै जर्मनी, सिंगापुर, अस्ट्रेलिया, युके, श्रीलंका, ओमन र अमेरिका गरी आठ देशका ४७ जना प्रतिस्पर्धामा रहेको रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले जानकारी दिए ।
प्रतिस्पर्धीहरूले विभिन्न ६ विधामा प्रतिस्पर्धा गर्नेछन् । शर्माका अनुसार प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ । ६ विधाका लागि आयोजनास्थलमा ६ वटै ट्रयाक निर्माण गरिएको छ । समुन्द्री सतहबाट एक हजार तीन सय ६० मिटर उचाइमा रहेको आर्बा–बिजय डाँडामा प्रतियोगीहरूले रेस जित्न ६ वटा स्टेज पार गर्नुपर्नेछ।
रेस उद्घाटनपछि मेयर आचार्यले पोखरामा यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता लगातार आयोजना भै रहेको र यसले पोखरालाई पर्यटनको सँगै खेलकुदको राजधानीको रूपमा समेत चिनाउँदै गएको बताए ।