जेन–जी आन्दोलनको असर : विराटनगर महानगरको सेवा अझै टेन्टबाटै

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका वेला आगजनी र तोडफोडको मारमा परेको विराटनगर महानगरपालिका अझै पनि पूर्ण रुपमा उठ्न सकेको छैन् । जलेका भवन पुनर्निर्माण नहुँदा महानगरले टेन्टबाटै सेवा दिइरहेको छ । आन्दोलनबाट महानगरको करिब एक अर्ब बराबरको सम्पत्ति क्षति भएको थियो ।

महानगरपालिकाले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार जेन–जी आन्दोलनमा (२४ भदौ) आगजनी र तोडफोडबाट भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँबराबरको क्षति भएको छ ।  

महानगर प्रमुख नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ महानगरपालिका मुख्य भवनसहित १ देखि १२ सम्म र १९ नम्बर वडा कार्यालयमा आगजनी र तोडफोड हुँदा २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, जिन्सी सामाग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको हो । 

वडागत रुपमा क्षतिको प्राविधिकहरूबाट विवरण संकलन गर्नु परेकोले क्षतिको पूर्ण विवरण आउन दुई महिना लागेको कोइरालाले बताए । 

यसैगरी आगजनी तोडफोडबाट विराटनगर महानगरको भौतिक संरचना, सवारीसाधन र फर्निचरलगायतको क्षतिभन्दा शाखा महाशाखाको अभिलेख सबै जलेर नष्ट भएका छन् ।  घरजग्गा शाखा पूर्ण रुपमा जल्दा त्यहाँका सबै कागजपत्र नष्ट भएका छन् । अन्य महाशाखा र शाखाका कागजपत्र पनि सबै जलेका छन् ।   

प्रमुख कोइरालाले महानगरपालिकाले सम्हालिएर सेवा प्रदान गर्न थाले पनि पुरानै अवस्थामा आउन अझै समय लाग्ने बताए । हाल महानगरले सबै सेवा भवन नभए पनि टेन्टबाटै दिइरहेको छ । 

महानगरको प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी भएपछि तत्काल  टेन्टमार्फत सेवा दिन थालेको थियो । र अझै पनि भवन पुनर्निर्माण भैनसकेकोले टेन्टबाटै सेवा प्रदान गरिरहेको छ ।  

आगजनीले न्यायिक समितिको इजलाससमेत जलेर नष्ट भए पछि टेन्टबाटै इजलास सञ्चालन गरिएको उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् । उनका अनुसार जेन–जी आन्दोलनपछि हरेक सोमबार र बुधबार न्यायिक इजलास बस्ने गरेको छ । 

प्राविधिक जाँचपछि बस्नयोग्य भवनमा रंगरोगन, विद्युत् र नेट जडान भइरहेको प्रमुख प्रशासकीय अधिकृत योगन्द्र दुलालले जानकारी दिए ।
 

सुझावित समाचार