कर्णाली याक्स स्पोर्टस्ले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रनलाई अनुबन्ध गरेको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले पाँचौँ विदेशी खेलाडी अनुबन्ध गरेको हो।
कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङ क्रम बलियो बनाउन टेस्ट राष्ट्रका जाद्रनलाई अनुबन्ध गरेको जानकारी गराएका छन्।
कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र भारतका प्रियांक किरित पन्चालले पहिलोपटक कर्णालीबाट खेल्दै छन्।
३२ वर्षीय बायाँहाते ब्याटरले अफगानिस्तानबाट १०७ खेल खेल्दा एक हजार ८ सय ३० रन बनाएका छन्। १३७.८० को औसतमा रन बनाउँदा ८ अर्धशतक बनाएका छन्। एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन्।