सिराहाका दुई ठाउँबाट लागुऔषधसहित चारजना पक्राउ

बिहिबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

सिराहा प्रहरीले जिल्लाको सिराहा नगरपालिका र नवराजपुरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ र अन्य लागुऔषधसहित चारजनालाई पक्राउ गरेको जनाएको छ। 

सिराहा नगरपालिका १ मा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो गोलबजार र वडा प्रहरी सिराहाबाट खटिएको संयुक्त टोलीले ब्राउनसुगरजस्तो पदार्थसहित दुईजना युवकलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

सिराहा १७ पटेर्वा बस्ने करिब २५ वर्षीय रामजीवन यादवले चलाएको स. ११ च ५४८५ नम्बरको मोटरसाइकल रोकेर पछाडि बसेका दीपककुमार यादवको समेत खानतलासी गर्दा रामजीवनको साथबाट ब्राउनसुगरजस्तो देखिने प्लास्टिकसहित २४ ग्राम ८२० मिलिग्राम बरामद भएपछि दुवैजनालाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ। त्यस्तै, जिल्लाको सीमावर्ती नवराजपुर गाउँपालिका- ५ कुर्सन्डीबाट जगतपुर जाने बाटोबाट इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा भारतबाट नेपाल ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स. १० प ५३२६ नं. को मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका चालक नवराजपुर गाउँपालिका- १ का करिब २० वर्षीय ऋषिकुमार यादव र पछाडि बसेका भगवानपुर गाउँपालिका ५ का करिब १८ वर्षीय देवेन्द्रकुमार यादवलाई पक्राउ गरिएको हो। 

खानतलासीको क्रममा ऋषिको साथबाट पाँच/पाँच एम्पुल डाइजेपाम, प्रोमेथाजाइन, ब्रुफेनफाइन तथा पछाडि बसेका देवेन्द्रको साथबाट एक एम्पुल डाइजोपाम तथा एक थान सिरिन्ज बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएका दुवैजनालाई इलाका प्रहरी कार्यलाय महेशपुर पतार सिराहाबाट अनुसन्धान थालिएको छ। 
 

सुझावित समाचार