उदयपुर एक्स्पो– २०८२ माघमा हुने, कृषि, पर्यटन र संस्कृति प्रदर्शनका मुख्य आकर्षण

बिहिबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा जिल्लाको कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘उदयपुर एक्स्पो–२०८२’ आयोजना हुने भएको छ। ‘कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग, व्यापार : उदयपुरको पहिचान, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ एक्स्पो आगामी माघ २३ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने भएको हो ।

एक्स्पो त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा नदीकिनारको बसपार्कमा आयोजना गरिनेछ। महोत्सवलाई भव्य र आकर्षक बनाउन दुई महिनाअघि नै तयारी सुरु गरिसकिएको आयोजकले जनाएको छ। सञ्चार समितिका संयोजक सुखिलाल चौधरीका अनुसार एक्स्पोको मुख्य उद्देश्य स्थानीय व्यवसाय, उत्पादन र सेवाको प्रवर्द्धन गर्नुका साथै उदयपुरको मौलिक संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउनु हो।

चौधरीका अनुसार यो एक्स्पो उदयपुरको आर्थिक, सांस्कृतिक र सामाजिक गतिविधिहरूलाई एकै मञ्चमा ल्याउने साझा प्रयास हो। स्थानीय उत्पादनको प्रदर्शन, व्यावसायिक अवसर र सांस्कृतिक झाँकीमार्फत उदयपुरको सम्भावना उजागर गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। एक्स्पोमा सहभागीहरूका लागि यस वर्ष केही नयाँ र अनौठा आकर्षणहरू पनि थपिएका छन्। उदयपुरमै पहिलोपटक एसी अन्डरवाटर फिस टनेल र जलपरीको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्नेछ। साथै, स्थानीय मौलिक संस्कृतिका झाँकीहरू, परम्परागत नृत्य–संगीत र हस्तकलाका वस्तुहरूको प्रदर्शनी पनि गरिनेछ।

दैनिक उपभोग्य वस्तुहरू, घरेलु उत्पादन र कृषि सामग्रीका स्टलहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति, रमाइलो बाल उद्यान, सोनामी भाइरल पिङ, ‘आई फिल टावर’, झुला, डुंगा सयरजस्ता मनोरञ्जनका विशेष आकर्षणहरू रहने आयोजकले जनाएको छ। जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगतका अनुसार एक्स्पो सञ्चालनका लागि आवश्यक सबै अनुमति स्थानीय निकायबाट प्राप्त भइसकेको छ। ‘हामी अहिले अन्तिम तयारीको चरणमा छौँ । यो एक्स्पो उदयपुरका व्यवसायी, कृषक र सर्जक सबैका लागि एक महत्त्वपूर्ण अवसर बन्नेछ,’ अध्यक्ष भगतले भने।

उदयपुर एक्स्पो– २०८२’ले जिल्लाको आर्थिक विकास, पर्यटकीय आकर्षण र सांस्कृतिक परिचयलाई थप बलियो बनाउने बताइएको छ। 
 

सुझावित समाचार