एभरेस्ट महिला भलिबल लिग : कर्णाली महिला भलिबलको फाइनलमा

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

साबिक विजेता कर्णाली यासविस एभरेस्ट महिला भलिबल लिगको फाइनल प्रवेश गरेको छ । गत भदौमा जेन–जी आन्दोलनका कारण स्थगित भएको लिग बुधबारदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हालमा फेरि सञ्चालन भएको हो । कर्णालीले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । कर्णालीले मधेशमाथि २५–१५,२५–१२ र २५–१७ को जित निकाल्यो । कर्णालीले लिगमा चारवटै खेलबाट शतप्रतिशत जित निकाली १२ अंक जोडेको छ । 

लिग रोकिँदा अपराजित रहेको ललितपुर क्विन्स भने चौथो खेलमा पराजित भएको छ । पुछारको पोखरा निन्जाजसँग ललितपुर ३–० को सोझो सेटमा पराजित भयो । फाइनलको दौडबाट बाहिरिसकेको पोखराले चार खेलबाट ४ अंक जोडेको छ । ललितपुरले चार खेलबाट ९ अंक बनाएको छ । विदेशी खेलाडी नहुँदा ललितपुर कमजोर देखिएको थियो । संगठित प्रदर्शन गरेको पोखराले पहिलो सेट २५–२२ ले जित्यो । पोखराले दोस्रो सेटमा २५–१३ र तेस्रो सेट २५–२० ले जित्यो । काठमाडौं र ललितपुरमध्ये एक टोली फाइनल पुग्नेछ । काठमाडौंले फाइनलको सम्भावनालाई जीवितै राख्न अब बाँकी दुई खेल जित्नुपर्नेछ । ललितपुरले भने आफ्नो अन्तिम लिग चरणको खेलमा कर्णालीलाई कम्तीमा दुई सेट हराउनुपर्नेछ । काठमाडौंले कुनै एक खेलमा हारेको खण्डमा ललितपुर फाइनलमा पुग्नेछ ।

विदेशी खेलाडीविनाको लिग 
फेरि सुरु भएको महिला भलिबल लिगमा विदेशी खेलाडी आबद्ध छैनन् । गत २३ र २४ भदौमा जेन–जी आन्दोलनका कारण पोखरामा लिग स्थगित हुन पुुगेको थियो । स्थगित हुुनुुअघिसम्म लिगका कुल १६ मध्ये नौ खेल सम्पन्न भइसकेका थिए । त्यसपछि आयोजकले बाँकी खेलहरू काठमाडौंमै गरिने निर्णय गरेको हो । लिगका बाँकी खेलमा विदेशी खेलाडी सहभागी नहुने आयोजकले जनाएको छ । ‘विदेशी खेलाडीहरू पुन: ल्याउन समय लाग्ने भएकाले प्रतियोगिता टुंग्याउने उद्देश्यले स्थानीय खेलाडीमै खेल अगाडि बढाउने निर्णय गरिएको हो,’ आयोजकले भनेको छ । 

पोखरामा लिग चलिरहँदा प्रत्येक टोलीमा मार्की खेलाडी, सातजना अक्सनमार्फत चयन भएका खेलाडी, एकजना ट्यालेन्ट हन्टबाट आएका र तीनजना विदेशी खेलाडी समावेश थिए । अहिले प्रत्येक ६ फ्रेन्चाइज टोलीका नौ स्थानीय खेलाडी छन् । परिमार्जित नयाँ मितिअनुसार २९ कात्तिकसम्म लिग चल्नेछ ।

सुझावित समाचार