सूर्य नेपालको कर्मचारी भन्दै १७ लाखभन्दा बढी ठगी गर्ने तीनजना पक्राउ

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

सूर्य नेपाल प्रालिको कर्मचारी भएको भन्दै विभिन्न व्यापारीलाई ठगी गर्ने तीनजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, वीरगन्ज–१९ का ४० वर्षीय रामराउत कुर्मी र वीरगन्ज–३२ टेटा घर भई हेटौँडा उपमहानगरपालिका–१० टिसनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेशकुमार केशरी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले आफूलाई सूर्य नेपाल प्रालिको कर्मचारी भनेर हेटौँडाका व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गर्ने र रकम बुझाएको देखिने नक्कली बैंक भौचर व्हाट्सएपमार्फत पठाउने गरेका थिए । व्यापारीहरूले सामान वीरगन्ज पठाएपछि मात्र ठगी भएको थाहा पाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी पुष्कार बोगटीले जानकारी दिए ।

प्रवक्ता बोगटीका अनुसार उनीहरूले विभिन्न समयमा व्यापारीहरूबाट १७ लाख ८७ हजार बराबरका सामान ठगी गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार