कोशी प्रदेश सभाको सचिवालय अब कृषि थोक बजारमा

प्रदेश सभाको सचिवमा सुदर्शन खड्का नियुक्त, मंसिर दोस्रो साताभित्र सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

मोरङको कटहरी गाउँपालिका–१ जमटोकीमा रहेको कृषि थोक बजारपरिसरबाट कोशी प्रदेश सभाको सचिवालय सञ्चालनमा आएको छ । 

प्रदेश सभाको सचिवालय र संसद भवन जेन–जी आन्दोलनमा जलेर ध्वस्त भएपछि अलपत्र अवस्थामा रहेको कटहरीस्थित कृषि थोक बजारबाट बुधबार सभाको सचिवालय सञ्चालनमा आएको हो । सचिवालयमा सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख श्रृजना दनुवार कार्यकक्षमा प्रवेश गरेका छन् । कृषि थोक बजारपरिसरभित्रै सबै संसदीय दलको कार्यालय, मिडिया सेन्टर र संसद सभाहल र चमेनागृह पनि सञ्चालन हुनेछ । सुविधासम्पन्न भए पनि प्रयोगविहीन रहेको उक्त कृषि बजारको कार्यालयलाई कटहरी गाउँपालिकाका केही कर्मचारीहरूले डेराको रूपमा प्रयोग गर्दै आएका थिए । 

जेन–जी आन्दोलनका क्रममा २४ भदौमा विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा सचिवालय र संसद बैठक भवन आगजनीबाट ध्वस्त भएको थियो । अब नयाँ स्थानबाट सचिवालय सञ्चालनमा आएसँगै कोशी सरकारले आगामी मंसिर दोस्रो हप्ताभित्रै कोशी प्रदेश सभाको हिउँदे अधिवेशनका आह्वान गराउने तयारी गरेको सरकारका प्रवक्ता मन्त्री रेवतीरमण भण्डारीले बताए । 

यसकारण अलपत्र थियो कृषि बजार   
जमटोकीमा रहेको प्रदेश कृषि थोक बजार केन्द्र संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)अन्तर्गत ०७५ सालमा स्थापना भएको हो । त्यसवेला कुला १७ करोड लागतमा बजार निर्माण भएको थियो । प्रदेशको कृषि विकासका लागि स्थापना गरिएको अत्याधुनिक फलफुल तथा तरकारी बजारमा विराटनगरका व्यापारी जान नमान्दा प्रयोगविहीन अवस्थामा थियो ।

३ चैत ०७५ मा संघीय सरकारको कृषि तथा पशुपक्षी मन्त्रालयले निर्माण गराएको उक्त्त थोक बजार संरक्षणसहित सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।
कृषि थोक बजार पाँच बिगाहा दुई धुरमा फैलिएको छ । बजारमा ३८ वटा थोक र  एउटा  खुद्रा बिक्री कक्ष छन् ।

बैकिङ सुविधासहितको आधुनिक प्रशासनिक भवन, शौचालय, चमेनागृह, डिप ट्युबेल, सिसी टिभी, सवारी पार्किङलगायतका सुबिधा  यहाँ उपलव्ध छ । बजारमा होलसेल पसल राख्न १४ सय ८८ वर्गमिटरको भवन र ३ सय ५१ वर्गमिटरको खुद्रा विक्री भवन निर्माण गरिएका छन् । बजारमा प्रति वर्गमिटर ३० टन तरकारी भण्डारण क्षमता रहेको छ ।

प्रदेश सभा सचिवमा खड्का नियुक्त्त 
कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्का नियुक्त भएका छन् । सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा बुधबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले खडकालाई नियुक्त्त गरेका हुन् ।

उनी तत्काल प्रतिनिधि सभाको सचिव रहेका थिए । सभामुख विष्टले सपथग्रहण गराएसँगै सचिव खडकाले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् । 
 

सुझावित समाचार