सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई ३ प्रश्न

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

 चिसो बढेसँगै कस्ता रोगको जोखिम बढी देखिने गर्छ ?
सामान्यतया चिसो बढेसँगै श्वासप्रश्वाससँग सम्बन्धित रोगको संक्रमण बढी देखिन्छ । अधिकांशलाई रुघाखोकीले सताउँछ । यो समयमा ज्वरोको समस्या पनि बढी देखिने गर्छ । घाँटी दुख्ने, चिलाउने, जिउ दुख्नेजस्ता समस्या पनि बढ्छन् । निमोनियाका बिरामी पनि यही समयमा बढी देखिन्छन् । कोल्ड डायरियाका बिरामी पनि यही सिजनमा बढी भेटिन्छन् । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म झाडापखाला र बान्ताको समस्या बढ्छ । ज्वरो आउने, कमन कोल्ड देखिने, कडा खोकी लाग्ने, ज्यान दुख्नेजस्ता समस्या भएमा त्यो फ्लु पनि हुन सक्छ । भारतमा केही समयअघि नै फ्लु फैलिसकेको छ । अब छिटै त्यो नेपालमा पनि आइपुग्छ । विशेषगरी, बालबालिका र ज्येष्ठ नागरिकमा जोखिम बढी देखिने भए पनि हामी सबै सतर्क हुनु जरुरी छ । 

यस्ता रोगबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्ला ? 
हाम्रा सहरबजारको हावामा धुलोधुवाँको मात्रा बढी हुने भएकाले बाहिर निस्किँदा सकभर मास्क लगाउने गर्नुपर्छ । बाहिरबाट घर फर्केपछि र खानेकुरा खानुअघि साबुनपानीले राम्ररी हात धुनुपर्छ । अहिले त फ्लुको खोपको पनि व्यवस्था छ । यसलाई किनेर लगाउन सकिन्छ । खासगरी मधुमेह, उच्च रक्तचापजस्ता रोगको औषधि सेवन गरिरहेका, ज्येष्ठ नागरिक, गर्भवतीहरूमा फ्लुको जोखिम बढी देखिने हुनाले चिकित्सकको सल्लाहमा खोप लगाउनु उपयुक्त हुन्छ । 

यो समयमा कस्तो खानपान जरुरी हुन्छ ?
सामान्यत: घरमै बनेका नियमित खानेकुरा खानु राम्रो हुन्छ । झोलिलो पदार्थ भने प्रशस्त खानु जरुरी छ । रेफ्रिजरेटरमा राखिएका चिसा खानेकुराभन्दा मनतातो खानेकुरा खानु राम्रो हुन्छ । तर, खानासँगै सम्भव भएसम्म आरामको पनि आवश्यकता छ ।

सुझावित समाचार