कठिन समयमा नेतृत्व सम्हालेर बिदा हुँदै आइजिपी खापुङ

जेन–जी आन्दोलन दबाउन लागेको दाग प्रहरी संगठनको मनोबल बढाएर मेटाउने प्रयास

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

गत २३ भदौमा भ्रष्टाचारविरुद्ध युवाहरूले आन्दोलन थाल्दा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बधाई थाप्नै व्यस्त थिए । महानिरीक्षकमा नियुक्त भएको पाँच दिन मात्र भएको थियो ।

राम्रोसँग सबै विभागबाट ब्रिफिङसमेत लिन नपाई उनले प्रहरी इतिहासकै सकसपूर्ण समयको सामना गर्नुपर्यो । २३ भदौको आन्दोलनमा युवा तथा विद्यार्थीमाथि भएको प्रहरीको दमन र भोलिपल्ट त्यसको विरोधमा भएको विध्वंसले नेपाल प्रहरी इतिहासमै कमजोर अवस्थामा पुगेको थियो । २४ भदौमा आन्दोलनकारीबाट तीन प्रहरी मात्र मारिएनन्, उपत्यकाका ९० प्रतिशत प्रहरी कार्यालय आन्दोलनकारीले कब्जा लिएर आगजनी गर्नुका साथै हातहतियार लुटे । आफ्नो मुख्यालयसमेत प्रहरीले बल्लतल्ल जोगाएको थियो । प्रहरीको इतिहासमा एकैदिन यति ठुलो क्षति कहिल्यै नभोगेको र प्रहरी यसरी निरीह अवस्थामा द्वन्द्वकालमा पनि नभएको प्रहरी अधिकारी बताउँछन् । 

चुनौतीपूर्ण समयमा प्रहरीको नेतृत्व गरेका खापुङको बर्दीमा एउटा असफलताको दाग लागेको छ । पर्याप्त सुरक्षा योजना बनाएर त्यसको आकलन गर्न नसक्दा यो अवस्था आएको विश्लेषकहरूको भनाइ छ । यो दृष्टिकोणबाट खापुङको कार्यालय प्रहरी इतिहासकै एउटा खराब कालखण्डका रूपमा लेखिनेछ । यद्यपि, त्यसपछिको अवस्थालाई प्रहरीलाई सामान्य अवस्थामा फर्काउन उनले छोटो समयमा गरेको नेतृत्वको पनि इतिहासले मूल्यांकन गर्नेछ । खापुङ बुधबार नवनियुक्त आइजिपी दानबहादुर कार्कीलाई नेतृत्व सुम्पिएर संगठनबाट बिदा हुँदै छन् । 

पूर्वडिआइजी हेमन्त मल्ल यो संकटको समयमा खापुङको नेतृत्वप्रति सन्तुष्ट छैनन् । ‘प्रहरी इतिहासमा प्रहरीमाथि यो खालको आक्रमण भएको थिएन, त्यसको झड्का झेल्दाझेल्दै उहाँको कार्यकाल सकियो,’ उनले भने, ‘छोटो अवधिका लागि नियुक्त हुने महानिरीक्षकले बलियो कमान्ड गर्न सक्दैन, यो घटनापछि लिडरसिपमा ग्याप देखियो, प्रहरीबाट मनोबल बढाउन पर्याप्त प्रयास भएन ।’ 

७० दिनको छोटो कार्यकाल बिताएर अवकाशमा जान लागेका खापुङ आफ्नो कार्यकाल मिश्रित रहेको र छोटो समयमै प्रहरीले संकटको अवस्थाबाट लय समातेकोमा खुसी लागेको बताउँछन् । ‘मेरो कार्यकाल मिश्रित रह्यो । क्राइसिसको समय थियो । योजना बनाएर काम गर्ने समय पनि भएन,’ उनले भने, ‘प्रहरीको मनोबल बढाएर क्राइसिसबाट प्रहरीलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ भन्नेमा केन्द्रित भइयो । प्रहरीमा मनोबल फर्किएको छ । छोटो समयमै संगठनले फेरि आफ्नो लय समात्न सफल भएको छ । त्यसमा म खुसी छु ।’ 

खापुङले कठिन समयमा प्रहरीको नेतृत्व गरेर सामान्यीकरणतर्फ लैजान सक्नु सफलता भएको कतिपय प्रहरी अधिकारीको बुझाइ छ । ‘पूर्वप्रधानमन्त्री केपी ओलीलगायतलाई पक्राउ गर्दा राजनीतिक मुठभेड हुन सक्ने भएकाले उहाँले यसमा सही अडान लिनुभयो जस्तो लाग्छ,’ एक एआइजीले भने, ‘कतिपय स्थानमा उनको कमान्ड सशक्त हुन सकेन होला, तर समग्रमा अहिले प्रहरीको मनोबल फर्काउन सफल हुनभएको छ ।’ कठिन समयमा पनि शान्त भएर नआत्तीकन उनले प्रहरी नेतृत्व सम्हालेको प्रहरी अधिकारी बताउँछन् । 

जेन–जी आन्दोलनपछि बनेको सरकारले हस्तक्षेप नगरेकाले पनि उनी शक्तिशाली बनेका थिए । जसकारण प्रहरीका एआइजी र डिआइजीको बढुवामा ठुलो विवाद भएन । प्रहरीमा लामो समयपछि आइजिपीले आफ्नो विवेक प्रयोग गरेर सरुवा निकाल्न पाएका थिए । आइजिपीका रूपमा पदभार ग्रहण गरेको पहिलो निर्णयका रूपमा उनले प्रहरी कर्मचारीका लागि किरियापुत्री भवन बनाउने निर्णयका साथै प्रहरीलाई सयवटा सवारीसाधन खरिदको प्रक्रिया अघि बढाएका छन् ।

दर्ज्यानी चिह्न लगाउने परम्परा सुधार्ने अवसर 
नेपाल प्रहरीमा गृह मन्त्रालयका सचिवले नवनियुक्त प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाउने परम्परा सुधार्न आवाज उठेको छ । अवकाशमा जाने प्रहरी महानिरीक्षकबाटै नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाउँदा संगठनमा नेतृत्व हस्तान्तरण र चेन अफ कमान्ड बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन् । ०४८ सम्म अवकाशमा जाने आइजिपीले नै नयाँ आइजिपीलाई दर्ज्यानी चिह्न लगाउने प्रचलन थियो । त्यसपछि शेरबहादुर देउवा र वामदेव गौतम गृहमन्त्री हुँदा गृहमन्त्रीबाटै लगाइएको थियो । पछि अच्युतकृष्ण खरेल आइजिपी हुँदा फेरि अवकाशमा जाने आइजिपीबाटै लगाउने परम्परा पुनस्र्थापित गरिएको थियो । ०६२/६३ पछि गृहसचिवबाट दर्ज्यानी चिह्न लगाउने परम्परा छ । जुन गलत भएको भन्दै अहिले सुधार गर्न पूर्वप्रहरी अधिकारीले माग गरेका छन् । बिहीबार नवनियुक्त आइजिपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएर प्रहरी नेतृत्व सम्हाल्नेछन् । पूर्वएआइजी रवीन्द्र केसी भन्छन्, ‘करिब ९० हजार प्रहरी कर्मचारीको सर्वोच्च कमान्डरले समान श्रेणीका गैरबर्दीधारी कर्मचारीको हातबाट दर्ज्यानी चिह्न लगाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ । सकल दर्जाको भावनाको सम्मान गर्नुपर्छ ।’

छोटो समयमै प्रहरीले लय समातेको छ  : चन्द्रकुवेर खापुङ, महानिरीक्षक 

क्राइसिसका वेला योजना बनाएर काम गर्ने समय पनि भएन । प्रहरीको मनोबल बढाएर क्राइसिसबाट प्रहरीलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ भनेर केन्द्रित भएर काम गरिएको छ । यसले प्रहरीमा उत्साह फर्किएको छ । छोटो समयमै संगठनले फेरि आफ्नो लय समात्न सफल भएको छ ।

सुझावित समाचार