मतदाता बन्न समय घर्किँदै, दर्ता गर्ने बढ्दै

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण
  • नामावली दर्ताको समयसीमा सकिनै लाग्दा दर्ता गर्नेको भिड बढेसँगै प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूमा सर्भरमा समस्या र जनशक्तिको अभाव
  • ९ असोजदेखि १२ कात्तिकसम्म ३३ दिनमा ८५ हजार १०७ मात्रैले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए , तर, पछिल्ला १२–१३ दिनमा थप एक लाखभन्दा धेरै मतदाताले नामावलीमा नाम दर्ता गराए

आसन्न २१ फागुनको निर्वाचनका लागि मतदाता नामावली दर्ताको समयसीमा सकिनै लाग्दा दर्ता गर्नेको संख्या ह्वात्तै बढेको छ । ९ असोजदेखि सुरु मतदाता नामावली दर्ताको समयसीमा सकिन पाँच दिन मात्रै (३० कात्तिक) बाँकी छ । 

निर्वाचन आयोगका अनुसार एक सातायता मतदाता नामावली दर्ता गर्नेको संख्या तेब्बरले बढेको छ । एक साताअघिसम्म दैनिक औसत पाँच हजारले नाम दर्ता गर्ने गरेकोमा पछिल्ला दिनमा दैनिक २० हजारका दरले नामावली दर्ता भइरहेको आयोगले जनाएको छ । दर्ता गर्नेको संख्या बढेसँगै जिल्ला निर्वाचन कार्यालयहरूमा सर्भर समस्या र जनशक्तिको अभाव देखिएको छ ।

आयोग प्रवक्ता नारायण भट्टराईका अनुसार सोमबार मात्रै एकैदिन २२ हजार २१९ मतदाता थपिएका छन् । सोमबारसम्म कुल मतदाताको संख्या एक लाख ८५ हजार नौ सय पुगेको छ । ९ असोजदेखि १२ कात्तिकसम्म (३३औँ दिन) सम्म ८५ हजार १०७ मात्रैले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । तर, पछिल्ला १२–१३ दिनमा एक लाख बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

२७ भदौमा प्रतिनिधिसभा विघटन भई २१ फागुनमा निर्वाचन घोषणा भएपछि सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरी मतदाता नामावली दर्ता खुला गरेको थियो । तर, सुरुवाती दिनमा मतदाता नामावलीतर्फ धेरैले रुचि देखाएका थिएनन् । 

आयोगले मंगलबार विज्ञप्ति जारी गरेर २० फागुन ०८२ सम्म १८ वर्ष पुग्ने सबैलाई मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ । विज्ञप्तिमा उनले जनशक्ति र कार्यसमय थपिएको जानकारी गराइएको छ । ‘नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घण्टा ) सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ,’ आयोगको विज्ञप्तिमा छ, ‘यसका लागि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाई सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।’ 

अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ । आयोगका प्रवक्ता भट्टराईले प्राविधिक रूपमा आएका समस्याहरूको तत्कालै हल गरेर सहज रूपमा मतदाता नामावली संकलनको काम भइरहेको बताए । 

प्रवक्ता भट्टराईले राष्ट्रिय परिचयपत्रमा उल्लेखित तथ्यांक र बायोमेट्रिकलाई पनि मतदाता नामावली दर्तामा उपयोग गर्ने गरी प्राविधिक टिमले काम गरिरहेको बताए । मतदाता नामावली दर्ताका क्रममा ठाउँ–ठाउँमा देखिएको सर्भरको समस्या तत्कालै समाधान गरी सहजीकरण गर्दै आएको उनले बताए । 

कति छन् मतदाता बन्न योग्य जेन–जी ?
निर्वाचन आयोगका अनुसार १५ असार ०८२ सम्म मतदाताको संख्या एक करोड ८१ लाख ६७ हजार ५७० पुगेको छ । त्यसपछि सोमबारसम्म एक लाख ८५ हजार नौ सय मतदाता थपिएका छन् । ०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । ०७८ को जनगणनाअनुसार ०८२ मा मतदाता बन्नयोग्य उमेर १८ वर्ष पुगेका युवाको संख्या २३ लाख ९२ हजार १८८ छ । जुन जेन–जी समूहभित्र पर्छ । मतदाता नामावलीमा नाम दर्ताको सीमित समय र हालसम्मको न्यून सहभागिता हेर्दा धेरैले नाम दर्ता गराउने देखिएको छैन । 

समय पुनरावलोकन गर्न प्रधानमन्त्री कार्कीको आग्रह, थप्न नसकिने आयोगको भनाइ 
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका समस्याबारे चासो राख्दै कात्तिक मसान्तसम्मको समय पुनरावलोकन गर्न निर्वाचन आयोगलाई अनुरोध पनि गरेकी छिन् । तर, आयोगले मतदाता नामावली दर्ताका लागि तोकिएको कात्तिक मसान्तसम्मको समय हेरफेर गर्न नसकिने जनाएको छ।

मतदाता नामावलीमा नाम दर्ता गराउने संख्या न्यून भएपछि प्रधानमन्त्री कार्कीले गत शुक्रबार आगामी निर्वाचनमा भाग लिन नयाँ मतदातालाई भिडियो सन्देश जारी गरेकी थिइन् । भिडियो सन्देशपछि मतदाता योग्य नागरिकले सहजै नाम दर्ता गराउन नपाएको, अनलाइन सर्भर नचलेको, भिडभाड भएको गुनासो आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले बताए । 

समस्या हल गर्ने गरी प्रधानमन्त्री कार्यालयले निर्वाचन आयोग र गृह मन्त्रालयमा पत्राचार गरेको छ । पत्रमा दर्ता प्रक्रियामा देखिएका असहजता हटाई मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन तीनवटा व्यवस्था गर्न भनिएको छ ।

जसअनुसार पहिलो– निर्वाचन कार्यालयहरूमा बढिरहेको कार्यचापअनुरूप आवश्यकताअनुसार कार्यसमय/सिफ्ट बढाई मतदाता नामावली दर्ता प्रक्रियालाई थप सहज बनाउन भनिएको छ । दोस्रो– राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेको तथ्यांकलाई मतदाता नामावली दर्ताका लागि प्रयोग गर्न मिल्ने गरी आवश्यक प्राविधिक एवं कानुनी प्रक्रिया अगाडि बढाउने भनिएको छ । तेस्रो– हाल सञ्चालनमा रहेको मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिएमा मतदाता नामावली संकलनको म्याद (३० कात्तिक) लाई पुनरावलोकन गर्ने भनिएको छ ।

आयोगले समय थप्दा निर्वाचन कार्यतालिकामा असर पर्ने भन्दै आयोगले निर्धारित ३० कात्तिकभित्रै नाम दर्ता गराउन जोड दिएको छ । ‘समयवाधि थप्ने कुरा सोचेको छैन । भएकै समयभित्र म्याक्सिमम नाम दर्ता गराउन सबै खाले सहजीकरण हुन्छ । तर, समय सार्न गाह्रो हुन्छ । यसको असर कार्यतालिकामा पर्छ । थप्ने हिसाबले अहिलेसम्म केही भएको छैन,’ प्रवक्ता भट्टराईले भने ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकार र निर्वाचन आयोगलाई अनुरोध गरेको छ । मंगलबार महामन्त्री कवीन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरू गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोधपत्र दर्ता गराएका हुन् । उक्त अनुरोधपत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरूका लागि राष्ट्रिय परिचयपत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिनसमेत अनुरोध गरिएको छ । 

५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग 
पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीसँग माग गरेको छ । रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर, उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईं र सुनीलबाबु पन्तलगायतको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।  संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भए पनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात् गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने उनीहरूको माग छ । प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने वचन दिइन् ।

दल दर्ताको पनि लहर

कुलमानको उज्यालो नेपाल, जेन–जीको जनादेश पार्टी

  • कुलमानको उज्यालो नेपाल

संयोजक : अनुपकुमार उपाध्याय, चुनाव चिह्न : बलेको चिम

  • जेन–जीको जनादेश पार्टी

संयोजक : रमन कर्ण, चुनाव चिह्न : हातमा बोकेको माइक 

ऊर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टी पुनर्गठन गर्दै निर्वाचन आयोगमा पुन: कागजात पेस गरिएको छ । २७ साउनमै काभ्रेका ज्ञानबहादुर तामाङले दिएको निवेदनमै पार्टी पुनर्गठनको कागजात बुझाइएको हो । 

अन्तरिम सरकारमा तीनवटा मन्त्रालय सम्हालिरहेका घिसिङ पार्टीमा प्रत्यक्ष जोडिएका छैनन् । तर, विभिन्न पक्षसँग छलफल गरी उनले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा उज्यालो पार्टी दर्ता प्रक्रिया अगाडि बढाएका हुन् । ५१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीको चुनाव चिह्न बलेको चिम रहेको छ । ज्ञानबहादुर तामाङ भने केन्द्रीय सदस्य रहेका छन् । 

निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय समितिको अद्यावधिक विवरणमा डा. ताराप्रसाद जोशी (डडेल्धुरा), प्राडा महेन्द्रसुन्दर लावती (पाँचथर), डा. घनश्याम पाण्डे (रुपन्देही), डा. सागर ढकाल (स्याङ्जा), डा. अभिषेकराज सिंह (सर्लाही), ई. डा. शंकर ढकाल (काभ्रे), ई. तेजनारायण यादव (सिराहा), रिमा विश्वकर्मा (बर्दिया), टासी ल्हान्जोम (हुम्ला), डा. राजु थापा (काठमाडौं) सदस्य छन् ।

यसैगरी डा. विशाल भण्डारी (दोलखा), श्री गुरुङ (संखुवासभा), ई. निलिमा बस्नेत (झापा), ई. दीपेन्द्र जमरकट्टेल (धादिङ), सीतादेवी पाण्डेय (रुपन्देही), ज्ञानेन्द्रकुमार तामाङ (काभ्रे), डकेन्द्रसिंह थेगिम (इलाम), डा. आशुतोषविजय पन्त (काठमाडौं), डम्बर लावती (सुनसरी), हिराप्रसाद सोती (किरण विक) (रुपन्देही), सोमप्रसाद चौधरी (बर्दिया), विजय कँडेल (नवलपरासी), ई. अरविन्द साह (बारा), धनबहादुर मिक्चन (सर्लाही), कुशल गुरुङ (कास्की), निर्देश सिलवाल (लमजुङ), लाक्पा फुटी शेर्पा (सोलुखुम्बु), सुभाष प्रधान (चितवन), जितराम लामा (काभ्रे) केन्द्रीय सदस्य छन् ।

यसैगरी, सरस्वता सुब्बा (सरु) (ताप्लेजुङ), विद्या श्रेष्ठ महर्जन (काठमाडौं), रामेश्वर श्रेष्ठ (काठमाडौं), तुलसा वाइबा (सिन्धुली), रजिया बानु (काठमाडौं), महेन्द्रकुमार थापा (इलाम), ज्योत्सना सैँजू (काभ्रे), अग्निमाया मेचे (झापा), कुसुम घिमिरे (अर्घाखाँची), मनोज लुहार (कैलाली), सुमी मोक्तान (काठमाडौं), सञ्जीव भट्टराई (चितवन), सुजन श्रेष्ठ (काठमाडौं), देवकी पौडेल (नुवाकोट), रोशनी लामा तामाङ (रामेछाप), बालिका चौधरी (बर्दिया), भीमबहादुर कुमाल (कञ्चनपुर), खड्कबहादुर बस्नेत (बागलुङ), राजाराम तण्डुकार (ललितपुर), ई. राजेन्द्र शाही (कालिकोट), शिवानी प्रधान (ललितपुर) रहेका छन् ।

दल दर्ताका लागि अद्यावधिक विवरणहरू बुझाउन निर्वाचन आयोग पुगेका इन्जिनियर डा. शंकर ढकालले उज्यालो नेपाल पार्टी मध्यमार्गी सोचको दल भएको र गन्तव्य उन्नत समाजवाद भएको बताए । ‘त्यसैले यो उन्नत मध्यमार्गी समाजवादको सिद्धान्तबाट निर्देशित छ । हाम्रो मुख्य उद्देश्य गुणस्तरीय पूर्वाधार र समग्रतामा आर्थिक समृद्धि र क्रान्ति नै हो । व्यवस्थामा परिवर्तन आयो, अवस्थामा आएन । किनभने डेलिभरी दिन सक्ने योग्य मान्छे राजनीतिमा आएनन्,’ उनले भने, ‘अब विज्ञहरू र युवामा पनि आर्थिक रूपमा स्वतन्त्र र केही व्यवसाय गरेका युवाको वर्चस्व हुने गरी पार्टी बनाएका छौँ,’ यो सुरुवात मात्र हो । निर्वाचनपछि यो देशको सत्ता सम्हाल्नेछ ।’

उनका अनुसार समानुपातिक सहभागिता, मेरिटोक्रेसी, सही व्यक्ति–सही ठाउँलाई पार्टीले मूल मन्त्र बनाएको छ । ‘नेपालको राजनीतिमा लोडसेडिङको अन्धकार थियो । त्यसलाई चिर्नका लागि गुम्सिएर बसेको चिजलाई जेन–जीहरूले आँटे । यही विद्रोहको जगमा एकखालको उज्यालोको अपेक्षा हो । विकासको अपेक्षा हो । यहाँनेर डेलिभरी दिन विज्ञहरू आउनुपर्‍यो । भिजनरी युवा आउनुपर्‍यो । जेन–जीले साथ दिनुपर्‍यो भन्ने हो,’ उनले भने ।

सुमना र सुदन गुरुङ अटाएनन्
उज्यालो नेपाल पार्टी गठनका क्रममा सुरुवातमा पूर्वमन्त्री सुमना श्रेष्ठ, हामी नेपालका संयोजक सुदन गुरुङको समूह पनि छलफलमा थियो । ऊर्जामन्त्री घिसिङले चरणबद्ध छलफल गरेका थिए । तर, अन्तिममा पार्टीको नाम, संयोजकमा असहमति जनाउँदै श्रेष्ठ जोडिइनन् । श्रेष्ठ नजोडिएपछि दर्ता गर्ने दिन मंगलबार सुदन गुरुङ पनि पछि जोडिने भन्दै बाहिरिए ।

सोमबारसम्म सुदन गुरुङको जेन–जी नेटवर्कमा आबद्ध ६ वटा प्रदेशका संयोजक उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बन्न सहमत हुँदै सूचीमा नाम राखिएको थियो । तर, मंगलबार सुदन गुरुङले अहिले साथ दिन नसक्ने भनेपछि उनीहरूको नाम हटाएर केन्द्रीय सदस्यको सूची आयोगमा बुझाइएको एक सदस्यले बताए ।

‘सुमनाजीले अनेक प्रश्न गर्नुभयो । सहिद परिवारको मान्छे संयोजक हुनुपर्‍यो भन्नुभयो,’ उनले भने, ‘जेन–जीको कोही संयोजक बनाउनुपर्छ भन्नुभयो । तर, हामीले अनुहार देखाउनेभन्दा डेलिभरी खोजेको हो, सुशासन, विकास, रोजगारीको अपेक्षा हो भन्यौँ । जेन–जीको आन्दोलनलाई ग्ल्यामराइज गर्ने हो कि खोजेको मुख्य अपेक्षा पूरा गर्ने हो भनेर राख्यौँ ।’

त्यसपछि सुमनाले ‘कुलमान घिसिङको पार्टी भन्ने, कुलमान घिसिङ प्रत्यक्ष लिडरसिपमा नआउने, यस्तो पनि हुन्छ ?’ भनेर प्रश्न गरेकी थिइन् । त्यसमा पार्टीले कुलमानलाई सफल बनाउने सहयोद्धा भएको र कुलमान आइसकेपछि छोड्ने जवाफ दिइएको थियो । साथै, एक व्यक्ति, एक पदको अवधारणाअनुसार पनि कुलमान मन्त्री भएकाले अहिले आउन नसकेको जवाफ दिएका थिए ।

त्यसपछि सुमनाले अनुपराज उपाध्यायलाई अहिले अध्यक्ष बनाएपछि कुलमान आउने वेला छोड्छन् त भनेर प्रश्न गरेकी थिइन् । पार्टीले कुलमानले नै सबै पक्षसँग सक्रिय छलफल गरेर पार्टी बनाएकाले उनी नै नेतृत्वमा रहने जवाफ दिँदा सुमना आफू कसरी जोडिने भन्ने मोडमा पुगेको र अहिले शक्तिहीन अवस्थामा कुन पद पाउने भन्ने अन्योलले जोडिन नसकेको तर निरन्तर संवाद भइरहेको नेताहरूले बताएका छन् । उनीहरूले १५ दिन वा महिना दिनपछि कुलमानले पार्टीको नेतृत्व सम्हाल्ने बताएका छन् ।

सुमनाले नेपाल विकास पार्टी राख्न प्रस्ताव गरेको र आफूहरूले नेपाल उज्यालो विकास पार्टी प्रस्ताव गरेर बालेनसहितलाई जोड्न खोजे पनि कुरा नमिलेको नेताहरू बताउँछन् । नेताहरूका अनुसार सुमना र सुदन गुरुङ नजोडिए पनि काठमाडौंका मेयर बालेन्द्र शाहनिकट व्यक्तिहरू केन्द्रीय सदस्य बनेका छन् । उनीहरूले यसलाई बालेनकै समर्थनका रूपमा दाबी गरेका छन् ।

पछिल्लो समय पूर्वाधार र सहरी विकासका सन्दर्भमा बालेन र कुलमानबिच राम्रो सहकार्य रहेको बताइन्छ । कुलमान घिसिङले नेतृत्व सम्हाल्ने वेलासम्म सुदन गुरुङले पनि भविष्यमा सहकार्य गर्ने वाचा गरेका छन् ।

जेन–जीले खोले जनादेश पार्टी 
अधिवक्ता रमन कर्णको संयोजकत्वमा जेन–जी युवाहरूले जनादेश पार्टी नेपाल गठन गरेका छन् । युवाहरूले हातमा माइक बोकेको चुनाव चिह्न राखेर दल गठन गरी दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् । पार्टीको मस्यौदाकार जस्मिन ओझाले पार्टीमा १८ वर्षदेखि ८० वर्ष उमेरसम्म पाँचवटा जेनरेसन (पुस्ता)को प्रतिनिधित्व रहेको बताइन् । पार्टीको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ ।

केन्द्रीय सदस्यमा माधवसुन्दर खड्का, योगेन्द्र तामाङ घिसिङ, एलिजा गौतम, कमल सुवेदी, कुशल खत्री, लक्ष्मण लामा, सीता रेग्मी योञ्जन, जस्मिन ओझा, गणेशप्रसाद चौलागाईं, दीपक चौधरी, विप्लवी न्यौपाने, इन्द्रजित साफी, विनु यादव, रञ्जना पौडेल, प्रदीप भट्टराई, प्रेमकुमार घिसिङ, मणिसुन्दर लिम्बू, विकासकुमार ठाकुर, नीरज सिंह, मनीष गोडवा, केदारमान लामा, शुक तामाङ, सर्जु सिग्देल, मदन कार्की, लक्ष्मी घलान र सम्झना कुँवर छन् ।

यस्तै, शंकुप्रसाद जैसी, सुशील बुढाथोकी, छेन्ताङहाङमा लिम्बु, राम नेपाली, अनिता यादव, केशव भट्टराई, नमराज शाही, व्रजित कर्ण, पहलसिंह केसी, रिता भट्टराई, देव श्रेष्ठ, लोमसाङ ब्लोन, नितेशकुमार केशरी, प्रशान्त प्याकुरेल, मन्दीपकुमार लाभ, युवराज थापा, माधवकुमार श्रेष्ठ, विक्रम राना र विमलेगु कुमार रहेका छन् । पत्रकार ऋषि धमला संरक्षक छन् ।

केन्द्रीय सदस्यसमेत रहेकी ओझाले समावेशी नेतृत्व हुने र जेन–जी महिलालाई प्राथमिकता दिइने बताइन् । घाइते र सहिद परिवारका सदस्यहरू रहेको यो पार्टीमा जेन–जीहरू नेतृत्वमा रहेको उनले बताइन् । ‘अभिभावक चाहिन्छ भनेर रमनकुमार कर्णलाई संयोजक दिएको भए पनि हामी जेन–जीहरू नै पार्टीको मस्यौदाकार हो । पदाधिकारीहरू जेन–जी नै हुन्छन्,’ उनले भनिन् । मस्यौदा समितिमा विप्लवी न्यौपाने, कमल सुवेदी र हिक्मत डंगोल सदस्य छन् । यी सबै जेन–जी हुन् ।

३० दल दर्ताको चरणमा 
निर्वाचन आयोगका अनुसार मंगलबारसम्म ३० दल दर्ताको चरणमा छन् । यसमध्ये २१ नयाँ हुन् भने नौ पुराना हुन् । आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ । आयोगले वामदेव गौतम नेतृत्वको नेकपा एकीकरण अभियाननामक दललाई खारेज गरेको छ ।

See More On

सुझावित समाचार