सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलीप साहमाथि हातपात गर्ने ४ चार जनामाथि सप्तरी प्रहरीले आपराधिक उपद्रव मुद्दा चलाइएको छ ।
आइतवार राति अस्पतालबाट पक्राउ परेका राजविराज नगरपालिका–४ का विनित चौहान, सोही ठाउँका उदय ठाकुर, विष्णुपुर गाउँपालिका–६, परमेश्वर यादव र उनका छोरा रमण यादवमाथि आपराधिक उपद्रव मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ दिन म्याद लिई थप अनुसन्धान थालेको सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए।
आइतबार अस्पातलको एनआइसियू वार्डको बल्ब एक नवजात शिशु राखेको म्याटमा एक्कासि झरेपछि ती नवजात शिशु घाइते भएका थिए। घाइते नवजात शिशुलाई तत्कालै थप उपचारका लागि विराटनगर लगिएको थियो।
बालकको अवस्था हाल सामान्य रहेको प्रहरीको भनाइ छ । त्यसपछि आक्रोशित बनेका उनका आफन्त तथा केही युवाहरूको समूहले अस्पतालमा उपद्रव मच्चाए । उनीहरूले अस्पतालमा ठाउँमा ठाउँमा आगजानी गर्दै इमर्जेन्सीको ल्याबमा तोडफोड गरे।
काम गर्न सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म कोही पनि कामकाजमा नफर्किने अडान लिएर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित भएका थिए । त्यसपछि सोमबार प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको छलफलबाट घाइते शिशुलाई अस्पतालले उपचार गराउने तथा हातपात, आगजनी र तोडफोड गर्नेलाई कानुनअनुसार हुने सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलीप साहले जानकारी दिए ।