अपचलन भएको त्रिविको जग्गा फिर्ता प्रकृयामा भएकाे प्रगतिबारे प्रधानमन्त्रीको चासो

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

हिनामिना भएको त्रिभुवन विश्वविद्यालयको जग्गा सम्बन्धमा शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएका छन्। मंगलबार सिंहदरबारमा त्रिवि पदाधिकारीसहित बसेको बैठकमा मन्त्री पुनले त्रिविको जग्गाबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका हुन्।

मन्त्री पुनले त्रिविको जग्गा फिर्ता ल्याउन प्रधानमन्त्रीकै साथ सहयोग चाहिने भएकाले आवश्यक सहयोग पनि मागे। प्रधानमन्त्री कार्कीले जग्गाको वास्तविकता बुझ्न खोजबिन समितिका पदाधिकारीसहितलाई बोलाएकी थिइन्।

त्रिविका पदाधिकारीहरुले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलनको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताएका थिए।

प्रधानमन्त्री कार्कीले हिनामिना भएको त्रिविको जग्गा फिर्ता ल्याउन आवश्यक कदम चाल्न समेत त्रिवि पदाधिकारी र शिक्षामन्त्री पुनलाई आग्रह गर्दै आफूले आवश्यक सहयोग गर्ने बताइन्। उनले त्रिविको जग्गा हिनामिनाको विवरण त्रिवि पदाधिकारी र शिक्षामन्त्रीसँग मागेकी थिइन्।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल, त्रिवि पदाधिकारी, मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीलगायत सहभागी थिए।

सहभागीहरुले त्रिविको जग्गा फिर्ता ल्याउन माथिल्लो तहबाट नै पहल हुनुपर्ने बताएका थिए। प्रधानमन्त्री कार्कीले त्रिविको जग्गा फिर्ता ल्याउन आफूले जस्तोसुकै सहयोग पनि गर्न तयार रहेको बताएको बैठकमा सहभागी त्रिविका एक पदाधिकारीले बताए।

सुझावित समाचार