हातले छुनेबित्तिकै डस्टबिन खुल्छ, त्यसमा फोहाेर हाल्ने र त्यसपछि आफैँ बन्द हुन्छ । जसलाई भनिन्छ ‘स्मार्ट डस्टबिन’ । तुलसीपुर उपमहानगरपालिका– ६ स्थित डिभाइन टेम्पल एकेडेमीका विद्यार्थीले सोही डस्टबिन बनाएर प्रदर्शनीमा राखेपछि सबैजनाको ध्यान तान्यो । सामाजिक सञ्जालमार्फत देखेका विद्यार्थीहरूले त्यो डस्टबिन बनाएका थिए । त्यति मात्रै होइन, रिमोटको सहायताले चल्न सक्ने कार, नजिक ताली बजाउँदा बल्न सक्ने बत्तीसमेत बनाएर प्रदर्शन गरेका थिए ।
सोमबार विश्व विज्ञान दिवसका अवसरमा विद्यार्थीहरूले त्यसरी विज्ञान प्रदर्शनी गरेका हुन् । विद्यालयकै प्रांगणमा विद्यार्थीहरूले भूकम्प आउँदा घन्टी बज्ने यन्त्र, घरमा कोही आउँदा घन्टी बज्ने यन्त्र, ज्वालामुखी विस्फाेटको नमुना, डिएनए मोडेल, हाइड्रोलिक जेसिबी, विपत् व्यवस्थापन नमुना, हाइड्रोलिक ब्रिज, वनस्पति कोष, प्राणी कोष, सोलार सिस्टम, अग्नि सूचक यन्त्र, होम सेक्युरिटी सिस्टम, पेरिस्कोप मोडेल, सोलार हाउस, युरिनरी सिस्टम, मानव मुटु, लाभा ल्याम्प, भाइरस मोडेल, हाइड्रो इलेक्ट्रिसिटी मोडेल, वाटर साइकल, प्रदूषण व्यवस्थापन, पाचन प्रणाली मोडेललगायतका नमुनाहरू प्रदर्शन गरेका थिए ।
त्यस अवसरमा राप्ती बबई क्याम्पस तुलसीपुर दाङका प्रमुख गणेश पार्धेले यस्ता कार्यले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमताको विकास हुने बताए । उनले यस्ता कार्यलाई विद्यालयले प्राेत्साहन गर्नुपर्नेसमेत बताए ।
किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक कुरामा पनि विद्यार्थीलाई जोड्न यस्तो कार्यक्रम गर्ने गरेको विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेले बताए ।