उदयपुरका विभिन्न नदी र खोलामा निर्माणाधीन ६ वटा पक्की पुल एक दशकदेखि अलपत्र छन् । कतै म्याद थप गरेर राखिएको छ भने कतै नदीको बाढीको चपेटामा परेका छन् । निर्माण सुरु भएको तीन वर्षभित्र सम्पन्न हुनुपर्ने पुल अलपत्र परेपछि स्थानीय मारमा परेका छन् । त्रियुगा नदीको सिवाई र बेल्हा जोड्ने पुल, उदयपुरबाट खोटाङ जोड्ने सुनकोशी नदीका चार पुल, बेलका नगरपालिका– ३ मा पर्ने गिदेरी खोलाको पुल अलपत्र अवस्थामा छन् । सुनकोशीमै पर्ने उदयपुर–खोटाङ धाप्लाङघाट र उदयपुर भोजपुर जोड्ने रानीटारको पुल १० वर्षदेखि अलपत्र छन् । ३० असार ०७३ मा ०७६ असारसम्म काम सक्ने गरी दुई पुलकै ठेक्का रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौंले लिएको थियो ।
शिलान्यासमै एक वर्ष ढिलाइ भयो । ०७३ मा शिलान्यास हुनुपर्नेमा ०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । देउवाले दुई पुलको शिलान्यास नेपाली सेनाको हेलिकोप्टरबाट आएर गरेका थिए । उदयपुर र भोजपुरको बिचमा पर्ने रानीटारमा पहिलोपटक शिलान्यास गरे, त्यसपछि हेलिकोप्टरबाटै खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशी किनार धाप्लाङमा हिन्दु परम्पराअनुसार ब्राह्मण पढाएर शिलान्यास गरेका थिए ।
उदयपुर र भोजपुर जोड्ने पुल उदयपुरको बेल्टार–रानीटार हुँदै भोजपुर सडकखण्डमा पर्छ । उदयपुर र खोटाङ जिल्ला जोड्ने पुल गाईघाट–साउने–धाप्लाङ हुँदै बराहापोखरी सडक खण्डअन्तर्गत पर्छ । रसुवा स्वच्छन्द पप्पु जेभीले एउटा पुल २२ करोड २५ लाख रुपैयाँका दरले दुवै पुल ४४ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्नुपर्ने थियो । पाँच स्पान भएको दुवै पुलको २०० मिटर लम्बाइ र १०.५ मिटर चौडाइ छ । २९ असार ०७६ भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ३० असार ०७३ मा ठेक्का सम्झौता गरेको पूर्वी सेक्टर कार्यालय धरान सुनसरीले जानकारी दिएको छ ।
०७९ को चुनावताका उदयपुर र खोटाङलाई छोटो दूरीमा सडक सञ्जालसँग जोड्ने भन्दै सुनकोशी नदीको वंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माण गर्न शिलान्यास गरिएको थियो । १ पुसमा तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले पुलको शिलान्यास गरेका थिए । उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ सिवाईबाट बेल्टार–वीरेन्द्र बजार–छुइला–वंशिलाघाट हुँदै खोटाङ–दिक्तेल सडकखण्डअन्तर्गत पर्ने दुधकोशी नदीको वंशिलामा मोटरेबल पक्की पुल बन्नुपर्ने थियो । तर अहिलेसम्म १७ प्रतिशत काम भएको छ ।
गत वर्ष ०८१ असोजमा बाढीले बगाएको फोक्सिनटारको पुल पनि अलपत्र छ । सगरमाथा लोकमार्गकै गाईघाट–खोटाङ–दिक्तेल खण्डको सुनकोशी नदीमा पर्ने फोक्सिनटारको पुल बाढीले बगाएको थियो । उदयपुरको चौदण्डीगढी नगरपालिका– ५, सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल निर्माणाधीन अवस्थामा ढलेपछि ६ वर्षदेखि अलपत्र छ ।
बेलका नगरपालिका–३ स्थित गिदेरी खोला पक्की पुल ०७० जेठमा शिलान्यास भएको थियो । ०७३ भित्र सम्पन्न हुनुपर्ने पुल अझै अलपत्र छ । पप्पु मृत सञ्जीवनी जेभी बानेश्वरले १३ करोड ३९ लाख ६७ हजार चार सय ७९ रुपैयाँ लागतमा दुई सय १८ मिटर लम्बाइ तथा सातवटा वेल फाउन्डेसन पिल्लर र ६ वटा स्पान रहेको गिदेरी खोलाको पुलको काम अहिलेसम्म करिब ७० प्रतिशतभन्दा बढी हुन सकेको स्थानीयको छैन । १२ वर्षमा तीनपटक म्याद थपिएको छ ।