प्रधानमन्त्री सुशीला कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघका प्रतिनिधिहरुसँग छलफल गरेकी छिन्।
पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्री कार्कीले सोमबार दिउँसो बालुवाटारमा छलफल गरेकी हुन्।
संघ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरुको धारणा थियो।
छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो। गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्न सक्ने सहयोगका निम्ति आग्रह गरे। केही हतियार र करिब ५ हजार कैदीबन्दीको खोजी सरकारले गरिरहेकाले त्यसबारे स्थानीय सरकारले सूचना उपलब्ध गराउन सक्ने भएकाले त्यसका निम्ति सहयोग गर्न उनले आग्रह गरे।
स्थानीय जनप्रतिनिधिहरुले हालै सरकारले मितव्ययिता कायम गर्न जारी गरेको मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजना पनि अनिश्चित भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। तीनै तहका सरकारहरूबिच समन्वय गर्न गठित संयन्त्रहरुका बैठक राखी क्रियाशील गराउन पनि उनीहरुले प्रधानमन्त्रीसमक्ष आग्रह गरे।
प्रधानमन्त्री कार्कीले स्थानीय सरकारको सहयोग र समन्वयमै अगाडि बढ्ने प्रस्ट पारिन्। निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले पनि समन्वय र सहकार्यबाटै अघि बढ्ने उनले बताइन्।
दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने प्रस्ट पार्दै प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको उल्लेख गरिन्।