उदयपुरमा यात्रुवाहक विंगर दुर्घटना, चालकसहित १२ जना घाइते

सोमबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहास्थित शान्तिचोक नजिकै यात्रुवाहक विङ्गर दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको विंगर अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठोक्किएको हो।

दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ। बिरामीहरूको स्वास्थ्य अवस्था अनुसार केहीलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ भने केहीलाई सामान्य उपचारपछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये चालक २६ वर्षीय उपेन्द्र साह (जिल्ला सप्तरी हनुमाननगर घर, हाल त्रियुगा–३ मोतिगडा निवासी) पनि अस्पतालमा उपचाररत छन्।

त्रियुगा–११ सङ्गमटोलकी ६० वर्षीया रामकुमारी राई, त्रियुगा–१२ का ४४ वर्षीय ज्ञानेन्द्र विक, त्रियुगा–७ चुहाडेका २२ वर्षीय केवल ठकुरी, त्रियुगा–२ खैजनपुरका ७७ वर्षीय कमलबहादुर खड्का र ५७ वर्षीय नरबहादुर खत्रीलाई गम्भीर चोट लागेकाले विराटनगरका विभिन्न अस्पतालमा पठाइएको छ।

त्रियुगा–११ का ७४ वर्षीय पूर्णबहादुर राई, त्रियुगा–१२ की १७ वर्षीया प्रजिता विक, ओखलढुङ्गाको खिजिदेम्बा–२ का ४५ वर्षीय तीर्थ घिमिरे, सप्तरी सुरुङ्गा–१ की २७ वर्षीया चन्द्रमाया चौधरी र उनकी ४ वर्षीया छोरी एरिना चौधरी, साथै काठमाडौँ गोकर्णेश्वर–२ का ४४ वर्षीय शम्भुराज पोखरेल उपचारपछि डिस्चार्ज भएका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सुझावित समाचार