चक्रवात वर्षाको कारणले सिराहामा दस हजार हेक्टर बढी धान बालीमा क्षति

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

मोन्था चक्रवातको कारणले कात्तिकको दोस्रो हप्ता परेको वर्षाको कारण सिरहामा दस हजार हेक्टर बढी धान बालीमा क्षति पुर्याएको छ । 

जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहस्थित कृषि शाखाहरुले वर्षाले धान बालीमा पुर्याएको क्षतिको प्रारम्भिक विवरण अनुसार करिब १० हजार सात सय २८ हेक्टरमा क्षति पुर्याएको छ ।

पालिकास्थित कृषि शाखाहरुले उपलब्ध गरएको प्रारम्भिक विवरण अनुसार सिरहाको लहानामा  सबैभन्दा बढी दुई हजार दुई सय ३२, औरहीमा एक हजार तीन सय ५८ र नरहामा आठ सय हेक्टर धान बालीमा क्षति पुगेको छ । 

लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार किसानहरुले राम्रो मूल्य पाउने बासमती र सुख्खा प्रजातीका गरी करिब ५० प्रतिशत धानमा क्षति पुगेको छ ।

पूर्व पश्चिम लोकमार्गदेखि दक्षिण प्रायः बोरिङ्, भूमिगत सिंचाइ तथा कमला नहर प्रणालीबाट सिंचाई गरी उन्नत जातको धान रोपिने भएकाले त्यही धानमा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । ‘पाक्नै लागेको र शुरुमै रोपेर पाकेपछि काटिसकेको धानमा वर्षाले क्षति पुर्याएपछि स्वतः उत्पादान पनि घट्छ’ केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने ‘बेमौसमी वर्षाले धानको बोट ढलेकाले दाना कुहिएर उत्पादन घट्छ ।’ 

केन्द्रका अनुसार जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५४ हजार हेक्टर जमिनमा वर्षे र एक हजार तीन सय ४५ हेक्टर जग्गामा चैते धान खेती हुन्छ । उक्त क्षत्रफलमा पछिल्लो वर्ष दुई लाख २८ हजार छ सय ९६ मेट्रिक टन धान उत्पादन भएपनि यो पल्ट बासमती र अन्य प्रजातीका धान ढलेकाले उत्पादन पनि घट्ने उनले बताए ।

जिल्लामा २१ हजार पाँच सय साढे ३३ हेक्टर जग्गामा बाहै्र महिना र १८ हजार तीन सय ३८ हेक्टर अर्ध सिंचित जग्गाबाहेक ३४ हजार ४२ हेक्टर क्षेत्रमा आकाशे पानीको भरमा नै खेती हुँदै आएको छ । 
 

सुझावित समाचार