जेन–जी आन्दोलनपछि हेटौँडाका सबै वडामा सेवा नियमित : जनप्रतिनिधिमा डर र त्रास भने कायमै

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले हेटौँडा उपमहानगरपालिकाका आधा दर्जनभन्दा बढी वडा कार्यालयमा ठुलो क्षति पुर्याएको थियो। ठुलो भौतिक क्षतिका बाबजुद पनि ती वडाहरूले अहिले आफ्नो सेवा नियमित गरिसकेका छन्। जनप्रतिनिधि र कर्मचारीहरूमा भने डर र त्रास अझै कायमै रहेको पाइएको छ।

उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठित पाँच सदस्यीय क्षति मूल्यांकन समितिले भदौ २७ देखि असोज २ गतेसम्म क्षति मूल्यांकन गरी उपमहानगरपालिकामा प्रतिवेदन पेस गरेको थियो । समितिका अनुसार आगजनी र तोडफोडबाट करिब ३२ करोड ७३ लाख रुपैयाँबराबरको क्षति भएको छ।

मूल्यांकन प्रतिवेदनअनुसार भौतिक पूर्वाधारमा १६ करोड ४० लाख, सवारीसाधनमा ६ करोड ७३ लाख र कार्यालय सामग्रीमा नाै करोड ६० लाख रुपैयाँबराबरको क्षति भएको छ । आन्दोलनका क्रममा नाैवटा साना गाडी, शववाहन, दुई ट्र्याक्टर, एक टिपर, एक जेसिबी, एक रोलर, ग्रास कटर र १९ वटा मोटरसाइकल जलेका छन् । साथै सयभन्दा बढी कम्प्युटर, प्रिन्टर र फर्निचर नष्ट भएका छन् ।

हेटौँडा– २ स्थित मुख्य भवनसहित वडा नम्बर १, ३, ४, १०, ११, १५ र १९ का कार्यालयमा ठुलो क्षति पुगेको उपमहानगरपालिकाले जनाएको छ । तीमध्ये वडा नं. ११, १५ र १९ का कार्यालय भवनमै आगजनी र तोडफोड भएको थियो भने अन्य वडामा तोडफोडपछि सामान बाहिर निकालेर जलाइएको थियो । त्यस्तै, हेटौँडा– ११ मा अवस्थित प्रादेशिक कृषि थोक बजारमा समेत आगजनी गरी लाखौँ मूल्यका उपकरण नष्ट गरिएका थिए ।

सबैभन्दा बढी क्षति पुगेको वडा नम्बर ११ की अध्यक्ष जुना दाहालले आफ्नो वडा कार्यालय पूर्ण रूपमा आगोले ध्वस्त भए पनि सेवा प्रवाह रोकिएको एक साताभित्रै नियमित गरिएको बताइन् । ‘हाम्रो वडा कार्यालय पूर्ण रूपमा जलेर ध्वस्त भएको छ । सुरुमा प्रतीक्षालयमा बसेर हातले लेखेर सेवा दिन थालेका थियौँ,’ उनले भनिन्, ‘अहिले सहरी स्वास्थ्य आधारभूत केन्द्रको माथिल्लो तलाको एउटै कोठामा बसेर जनप्रतिनिधि, वडासचिव, प्राविधिक सबैले संयुक्त रूपमा सेवा दिइरहेका छौँ ।’

वडाध्यक्ष दाहालका अनुसार कार्यालयमा आगो लगाउनेहरूकै परिवारका सदस्य अहिले सेवाग्राही बनेर आउने गरेका छन् । ‘मन दुख्छ, तैपनि हाँसीमुखी भएर सेवा दिइरहेका छौँ,’ उनले भनिन् । यता वडा नम्बर १० का अध्यक्ष फुर्बा लामाले आफ्नो वडा कार्यालयले आन्दोलनपछि सबैभन्दा पहिले सेवा नियमित गरेको दाबी गरे। ‘हामी २६ गते फर्कियौँ र २७ गतेदेखि सरसफाइ गरेर सेवा दिन थालेका थियौँ,’ उनले जानकारी दिए । लामाका अनुसार २३ गतेको आन्दोलनका मागहरू जायज भए पनि २४ गतेको हिंसात्मक गतिविधि ‘अपराधी मानसिकता’बाट प्रेरित थियो । ‘२४ गतेको आन्दोलन जेन–जीकै नाममा भए पनि कार्यालय जलाउने, नेताको घर जलाउने काम भने अपराध नै हो,’ उनले टिप्पणी गरे ।

जनप्रतिनिधि र कर्मचारीमा मनोवैज्ञानिक असर कायमै
हेटौँडा उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले आन्दोलनका कारण कर्मचारी र जनप्रतिनिधिमा गहिरो मनोवैज्ञानिक असर परेको बताए । डराइडराई काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘हाम्रो वडा कार्यालयमा आगजनी नभए पनि मनमा डर बसिसकेको छ । सेवा लिन आउने नागरिकको संख्या पनि घटेको छ,’ उनले भने, ‘जेन–जीका नाममा कसैले केही गरिहाल्छ कि भन्ने डर जनप्रतिनिधि र कर्मचारीमा छ ।’

यस्तै वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले आफ्नो वडामा कार्यालय सामग्री नष्ट भए पनि न्यूनतम साधनस्रोत जुटाएर सेवा प्रवाह गरिरहेको बताए। ‘हामीले दिनुपर्ने सबै सेवा प्रवाह गर्न सफल भएका छौँ,’ उनले भने, ‘तर, क्षतिको असरले नगरपालिकाको आन्तरिक आम्दानी घटेको छ, पुनर्निर्माणका लागि बजेट छुट्याउनुपर्ने भएकाले योजनागत काम प्रभावित भएका छन् ।’ वडाध्यक्ष सिग्देलका अनुसार जनप्रतिनिधिहरूको मनमा अझै पनि अर्को आन्दोलन पो हुने हो कि भन्ने भय छ । ‘अब त मनमै डर छ, फेरि जुलुस भयो भने के होला भन्ने त्रास छ,’ उनले भने ।

वडाध्यक्षहरूले जेन–जी पुस्ताको माग र आवाजलाई स्वीकार गर्न सकिने बताए पनि त्यो नाममा हुने आपराधिक गतिविधि दोहोरिन नदिन टोल विकास संस्था, युवा क्लब र सामुदायिक समूहहरूलाई सचेत गराइएको जनाएका छन् । हाल हेटौँडाका सबै वडा कार्यालयहरूले सेवा नियमित गरिसकेका छन्। तर, पूर्वाधार र साधनस्रोतको अभाव, आन्तरिक आम्दानीमा आएको गिरावट र जनप्रतिनिधि–कर्मचारीमाथिको मनोवैज्ञानिक असर भने अझै पनि हेटौँडा उपमहानगरपालिकाको प्रमुख चुनौती बनेको उनीहरू बताउँछन् ।

See More On

सुझावित समाचार