मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गरेकी छिन् । नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठुलो दलको हैसियतमा सोमबार बिहान मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
यसअघि मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शनिबार साँझ (२२ कात्तिक) आफ्नो पदबाट राजीनामा दिएका थिए। सोही दिन उनले प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो, तर पर्याप्त समर्थन नपाउने देखेपछि राजीनामा दिएका हुन्।
सोनलले राजीनामा दिएपछि आइतबार रातिसम्म पनि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइनन्। आह्वानमा ढिलाइ भएपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीलगायतका ६ दलले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको आह्वान हुनुपर्ने माग गरेका थिए।
तर, आइतबार संविधानविद् र कानुनविद्हरूसँग परामर्श गरेपछि प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिन्। विश्वसनीय स्रोतका अनुसार आइतबार दिउँसोदेखि नै एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने चर्चा चलेको थियो। सोबारे थाहा पाएपछि उक्त ६ दलले प्रदेश प्रमुखलाई लिखित ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो निर्णय नगर्न चेतावनी दिएका थिए।
तर, आज बिहान करिब ४ बजे, प्रदेश प्रमुख भण्डारी स्वास्थ्य समस्या भएको भन्दै काठमाडौं जाँदै छु भनेर बाहिरिएकी थिइन्। तर, त्यसकै केही समयपछि उनी महोत्तरी र सिन्धुलीको सीमामा पर्ने होटेल पानसमा पुगेकी थिइन्, जहाँ उनले सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथग्रहण गराएकी थिइन्। शपथ समारोहमा नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी र राप्रपा नेपालकी एक सांसद सहभागी रहेको स्रोत बताउँछ।
यस घटनापछि निवर्तमान मुख्यमन्त्री सोनलले तीव्र प्रतिक्रिया दिएका छन्। उनले भने, ‘प्रदेश प्रमुखले लोकतन्त्र र संघीयतालाई धरापमा पार्ने काम गर्दै प्रदेशको अस्मिता समाप्त गर्न खोजेकी छिन्। बिहान ४ बजे उहाँले स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै छु भन्नुभयो, मैले बिदाइ पनि गरेँ। तर, केहीबेरमै खबर आयो, उहाँले एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरिसक्नुभयो।’ सोनलले थपे, ‘प्रदेश प्रमुखले मधेशी जनतालाई धोका दिएकी छिन्। यो मधेशका लागि दुर्भाग्य हो।’