झापा महिला गोल्डकपको फाइनल आज : पुलिसलाई बदला लिने अवसर

एक वर्षभित्र एपिएफले विभिन्न प्रतियोगितामा पुलिसलाई निराश बनाएको छ । यसपटक खेलाडीहरू फर्ममा रहँदा एपिएफलाई कडा चुनौती दिने पुलिसको योजना छ ।

सोमबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण

दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले सोमबार पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । घरेलु फुटबलका चिरपरिचित प्रतिद्वन्द्वीबिच दुधे रंशगालामा हुने उपाधि भिडन्तलाई प्रतिष्ठाको खेलका रूपमा हेरिएको छ । पछिल्लो एक वर्षको प्रतियोगिताका तथ्यांक हेर्दा एपिएफ हाबी हुँदै आएको छ । यद्यपि, पुलिसलाई यसपटक भने एपिएफसँग हारको बदला लिने अवसर छ । 

एपिएफसँग पुलिस कहीँ टाइब्रेकर वा कतै थोरै गोलअन्तरले पराजित भएको देखिन्छ । गत वर्ष माघमा भएको राष्ट्रिय महिला लिगको फाइनलमा एपिएफले पुलिसलाई पराजित गरेको थियो । त्यसअघि लिगको पहिलो चरणको खेलमा पुलिससँग बराबरी खेलेको एपिएफले दोस्रो चरणका दुवै खेलमा जित हाँसिल गरेको थियो । त्यसपछि भएको मकवानपुरको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप, लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता, बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबलमा पुलिसलाई उपाधि उचाल्न एपिएफ बाधक बनेको थियो । 

गत वर्ष फागुनमा इलाममा भएको महिला गोल्डकप, गत भदौमा सिमरामा भएको अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल र चितवनमा भएको महिला फुटबलमा एपिएफले पुलिसलाई समिफाइनलमा रोकेको थियो । पछिल्लो समय अपराजित रहेको एपिएफलाई रोक्नका लागि पुलिसले झापा महिला गोल्डकपलाई अवसरका रूपमा लिएको छ । यसपटक पुलिससँग भरपर्दो डिफेन्डर पूजा राना, स्ट्राइकर रेखा पौडेल र उदीयमान स्ट्राइकर मीना देउवा छन् । 

सेमिफाइनलसम्म सर्वाधिक गोल गर्ने खेलाडी पुलिसका छन् । मीना देउवाले दुई खेलमा ६ गोल र पुलिसकै रेखा पौडेलले पाँच गोल गरेका छन् । यसपटक सेट टिम भएका कारण एपिएफविरुद्ध जित निकाल्ने योजना रहेको आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा पुलिसका प्रशिक्षक भोला सिलवाल बताउँछन् । ‘एपिएफसँग विगतदेखि नै खेल्दै आएका छौँ । यसअघि भएका तीन प्रतियोगितामा टाइब्रेकरमा मात्र हारेका छौँ । यसकारण पनि हामीसँग उच्च मनोबल छ,’ प्रशिक्षक सिलवालले भने, ‘त्यो वेला कहिले पूजा नहुने त कहिले रेखा नहुने थियो । तर, यसपटक हामीसँग सबै छन् । यसले आशा जगाएको छ ।’ 

राष्ट्रिय खेलाडीले भरिएको एपिएफ
विभागीय टिमको खेल प्रतिष्ठाको रहने सिलवालले बताए । ‘विभागीय टिमको खेल भनेपछि प्रतिष्ठा पनि जोडिन्छ । हामी फाइनल खेल उपाधि जित्न खेल्छौँ,’ उनले भने । एपिएफसँग पुलिसको तुलनामा राष्ट्रिय महिला टोलीका सदस्य धेरै छन् । सुरुवाती ११ मै राष्ट्रिय महिला टोलीका सदस्यले खेल्दै आएका छन् । पुलिसभन्दा एपिएफ तुलनात्मक रूपमा बलियो देखिन्छ । राष्ट्रिय खेलाडी रहनु पनि एडभान्टेज रहेको एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले बताए । 

विगतमा जितेको इतिहासले पनि खेलाडीमा मनोबल बढाएको उनको भनाइ छ । झापा महिला गोल्डकपमा पुलिसको प्रदर्शनलाई पनि हेरेर रणनीति बनाइने उनले बताए । ‘हामीले पुलिसको प्रदर्शन पनि हेरेर त्यहीअनुसार रणनीति बनाएका छौँ । सबै खेलाडी एउटा टिममा खेल्ने भएकाले एक–अर्काको कमजोरी थाहा छ । हामीले रिड गरेका छौँ,’ पाण्डेले भने, ‘हामी मीना र रेखालाई रोक्न तयारी छौँ । विपक्षी पनि राम्रो र सन्तुलित छ । त्यहीअनुसार खेल्छौँ ।’ पाण्डेले विगतको रेकर्डअनुसार एपिएफ नै बलियो भएको बताए ।

एपिएफकी कप्तान अनिता बस्नेतले पुलिस राम्रो भएको बताइन् । यद्यपि, धेरैपटक खेलेको टिम भएकाले एपिएफका खेलाडीमा आत्मविश्वास रहेको बताइन् । ‘हामी ट्रफी जित्नका लागि खेल्छौँ । विपक्षी टिम पनि राम्रो छ । धेरैपटक खेलेको टिम हो,’ उनले भनिन्, ‘विभागीय टिमसँग खेल्न सजिलो हुँदैन । हाम्रो टिममा विश्वास छ । मिहिनेतका साथ खेल्छौँ ।’ पुलिसकी कप्तान अमृता जैसीले राम्रो खेल प्रदर्शन गर्दै उपाधि जित्न खेल्ने बताइन् । उनले झापामा दर्शकको साथ राम्रो पाएको बताइन् । ‘चिरपरिचित प्रतिद्वन्द्वीसँग खेल्न पाउँदा उत्साहित छौँ,’ उनले भनिन्, ‘प्रशिक्षकको रणनीतिअनुसार खेल्नेछौँ ।’ झापा महिला गोल्डकपको विजेताले १० लाख १० हजार र उपविजेता हुने टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

सुझावित समाचार