दोस्रो नेपाल प्रिमियर लिग : दक्षिण अफ्रिकाका ताहिर जनकपुरमा

दक्षिण अफ्रिकाका बायाँहाते स्पिनर इमरान ताहिरले विश्वका चर्चित फ्रेन्चाइज टी–२० लिग खेलिसकेका छन् । उनले समग्रमा ४४६ टी–२० खेलमा ५७० विकेट लिएका छन् ।

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण
दोस्रो नेपाल प्रिमियर लिग : दक्षिण अफ्रिकाका ताहिर जनकपुरमा

इमरान ताहिर

दक्षिण अफ्रिकाका विश्वचर्चित स्पिनर इमरान ताहिरले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । स्पिनर ताहिरले साबिक विजेता जनकपुर बोल्ट्सबाट खेल्ने भएका हुन् । जनकपुरले दक्षिण अफ्रिकी बलरलाई तेस्रो विदेशी खेलाडीका रूपमा भिœयाएको हो । यसअघि जनकपुरले श्रीलंकाली लाहिरू मिलान्था र दक्षिण अफ्रिकाका वायन पार्नेललाई अनुबन्ध गरिसकेको छ । उपाधि रक्षा गर्ने योजनामा रहेको जनकपुरले प्रशिक्षकमा वेस्ट इन्डिजका पूर्वदिग्गज ब्याट्सम्यान शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । 

विश्वचर्चित लिगको अनुभवी 
बायाँहाते स्पिनर ताहिरले करिअरमा विश्वका धेरैजसो चर्चित फ्रेन्चाइज टी–२० लिग खेलिसकेका छन् । उनले समग्रमा ४४६ टी–२० खेलमा ५७० विकेट लिएका छन् । यसक्रममा उनले १३ पटक चार विकेट तथा पाँचपटक पाँच विकेटको प्रदर्शन गरे । दक्षिण अफ्रिकाका लागि उनले पहिलो श्रेणीमा १९४ खेलमा ७८४ तथा लिस्ट ‘ए’मा २३९ खेलबाट ३६९ विकेट हात पारेका छन् । ब्याटिङमा भने उनले पहिलो श्रेणीमा १९४ खेलमा दुई हजार ६१७ रन जोडेका छन् । ताहिरले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग जितेका छन् । 

विश्वकै महँगो फ्रेन्चाइज लिग मानिने इन्डियन प्रिमियर लिग (आइपिएल)मा उनी तीन टोलीसँग आबद्ध भएका थिए । उनले राइजिङ पुने सुपरजायन्ट्स, दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किंग्सबाट खेलेका छन् । सन् २०१९ मा उनले आइपिएलमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जितेका थिए । आइपिएलमा उनले ५९ खेलमा ८२ विकेट लिएका छन् । त्यसपछि उनले सिपिएलमा ९० खेलबाट १३० विकेट हात पारेका छन् । यसैगरी बंगलादेश प्रिमियर लिग, अस्ट्रेलियाको बिग बास, मेजर लिग क्रिकेट, लंका प्रिमियर लिग, आइएलटी–२०, एसएटी २० जस्ता चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् । 

नौ वर्ष दक्षिण अफ्रिकी टोलीमा
ताहिरले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय खेलमा दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्युको अवसर पाएका थिए । उनले सन् २०१५ मा नयाँदिल्लीमा भारतविरुद्ध अन्तिम टेस्ट खेले । उनले वेस्ट इन्डिजविरुद्ध डेब्युको अवसर पाए । सन् २०१९ मा उनले अस्ट्रेलियाविरुद्ध आफ्नो करिअरकै अन्तिम एकदिवसीय खेल खेले । टी–२० आई फम्र्याटमा भने उनले सन् २०१३ मा श्रीलंकाविरुद्ध पहिलो खेल खेले । सन् २०१९ मा श्रीलंकासँगको खेलबाट उनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए । ताहिरले टेस्टमा ५७, एकदिवसीयमा १७३ तथा टी–२० आईमा १६३ विकेट लिएका छन् । 

 काठमाडौंलाई एक्सट्रिम इनर्जीको साथ 
काठमाडौं गोर्खाजले एक्सट्रिम इनर्जी ड्रिंक्ससँग प्रायोजन सम्झौता गरेको छ । काठमाडौंले एक्सट्रिम इनर्जीसँग ड्रिंक्स पार्टनरका रूपमा सम्झौता गरेको हो । काठमाडौंका कार्यकारी निर्देशक अनुभव सिरोहिया र एक्सट्रिम इनर्जीका महाप्रबन्धक पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौं १८ खेलाडी नै पूरा गर्ने पहिलो टोली हो ।

 सुदूरपश्चिमको मस्कट सार्वजनिक 
साबिक उपविजेता सुदूरपश्चिमले दोस्रो एनपिएलका लागि आफ्नो मस्कट सार्वजनिक गरेको छ । यो मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै, मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ । सुदूरपश्चिमले आइतबार धनगढी क्रिकेट एकेडेमी (डिसिए)मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा मस्कट अनावरण गरेको हो । टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ । सुदूरपश्चिमको कप्तानीमा  दीपेन्द्रसिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमटा छन् । 

 सेफ अली चितवनमा आबद्ध
इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सेफ अली जैब चितवन राइनोजमा अनुबन्ध भएका छन् । पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्समा आबद्ध उनले नौ खेलमा दुई अर्धशतकसहित २७५ रन र १२ विकेट लिएका थिए । सैफले इंग्ल्यान्डको घरेलु क्रिकेटमा ९८ टी–२० खेलमा १६ सयभन्दा बढी रन र १८ विकेट लिएका छन् । चितवनले आइतबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । 

उनी पहिलो संस्करणमा सुदूरपश्चिमबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए । इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट नखेले पनि उनले घरेलु क्रिकेटमा खेल्ने गरेका छन् । बायाँहाते ब्याटिङ गर्ने उनले टी–२० मा ९८ खेलमा १४० माथिको स्ट्राइक रेट राखेका छन् । भाइटालिटी ब्लास्टमा उनले १८ विकेट लिएका छन् । उनले बकिंह्यामसायर र नर्थहाम्पटनसायरबाट खेलेका छन् । द हन्ड्रेड क्रिकेटमा वेल्स फायर र नर्थन सुपरचार्जर्सबाट उनले खेलेका छन् ।
 

सुझावित समाचार