हुँडारको हल्लाले त्रासमा रंगेलीका बासिन्दा

राति गस्ती गर्न थाले गाउँले, सडक र घरमा रातभरि बाल्न थालियो बत्ती

सोमबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण

मोरङको रंगेली सीमावर्ती क्षेत्रमा अफ्रिका तथा एसियाका केही भूभागमा मात्र पाइने लोपोन्मुख मांसाहारी जनावर हुँडार (हाइना)को बथान देखापरेको भन्दै स्थानीयवासी रातभरि बत्ती बालेर सुत्न थालेका छन् । लोपोन्मुख मानिएको हिंस्रक जनावर हुँडारको बथान रंगेली नगरपालिका– ४ स्थित धनपति गाउँमा देखापरेको भन्दै वडा नम्बर ४ र ५ का बासिन्दाले रातभरि घर र सडकका बत्ती बाल्ने गरेका हुन् ।

मांसाहारी जनावर हुँडारको बथान तीन–चार दिनदेखि रातको समयमा देखिन थालेको भन्दै स्थानीय बासिन्दामा त्रास फैलिएको छ । गाउँलेले राति गस्ती नै गर्न थालेका छन् । रंगेली– ४ को धनपति गाउँको बाँसघारी र खेतमा हुँडारको बथान नै देखिएको रंगेली नगरभरि हल्ला व्यापक भएको छ । 

रंगेली– ५ का वडाध्यक्ष महानन्द मण्डलले हुँडार देखिएको हल्ला गाउँनगर सबैतिर व्यापक भएको, तर अहिलेसम्म आफ्नो वडामा कतै पनि नदेखिएको बताए । उनले सीमाक्षेत्रदेखि झन्डै २० किमि टाढा भारतको पिपरामा हुँडारले तीन दिनअघि दुईजना घाइते बनाएको आफूले पनि सुनेको र नगर क्षेत्रमा प्रत्यक्ष देख्ने प्रत्यक्षदर्शी भने आफूले नभेटेको बताए । ‘राति हुँडार देखिएको भन्दै भिडियो सामाजिक सञ्जालमा हाल्ने मान्छेलाई पनि बोलाएको छु, भेटेपछि मात्र यकिन गर्न सकिएला,’ उनले भने ।

मण्डलका अनुसार भारतको पिपरामा दुईजना घाइते भएपछि सीमा क्षेत्रका बासिन्दा त्रासकै कारण नेपालमा पनि स्याललाई हुँडार देखिएको भनेर हल्ला व्यापक भएको हुन सक्छ । वडा नम्बर ४ का वडासदस्य रामेश्वर मण्डलले गाउँमा हुँडार देखिएको दाबी गर्दै दुईजना घाइते भएको बताए । तर, प्रहरीले भने यसको पुष्टि गरेको छैन ।

इप्रका रंगेली र नगरपालिकाले नेपालतर्फ राति हुँडार देखिएको हल्लाले त्रास फैलाएपछि सतर्क भएर बस्न सीमा क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन् । सोही कारण स्थानीय रातभरि घरका साथै सडकको बत्ती ननिभाउने र राति घरबाहिर निस्कन छाडेका छन् । ‘हुँडारको हल्लाले त्रास व्यापक भएपछि मैले पनि वडाका सबै पोलमा बिजुली बाल्न लगाएको छु,’ वडाध्यक्ष महानन्द मण्डलले भने ।

मोरङका प्रमुख वन अधिकृत उत्सव थापाले रंगेलीको सीमा क्षेत्रमा हुँडार देखिएको र भारततर्फ दुईजना घाइते भएको सूचना गाउँलेले दिएपछि सबडिभिजन कार्यालयमार्फत निगरानी थालेको, तर तीन दिन बित्दा पनि अझैसम्म लोकेट हुन नसकेको बताए । ‘रंगेलीमा राति हुँडारको बथान नै देखिएको सूचना आएपछि उद्धारका लागि वन्यजन्तु आरक्षण केन्द्र कोशी टप्पुलाई जानकारी दिएका छौँ । फेला परेमा उद्धार गरेर निकुञ्जमा पठाइदिनेछौँ, त्रासले गर्दा स्यालको बथानलाई हुँडार भनिएको हुन पनि सक्छ, त्यो लोकेट भएपछि मात्र थाहा हुनेछ,’ उनले भने ।

कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवले रंगेलीमा हुँडार देखिनु दुर्लभ घटना भएको र लोकेट गरेर उद्धार गर्न टोली खटाइसकेको बताए । यादवका अनुसार सन् २०११ मा भएको अध्ययनमा नेपालका २५ जिल्लामा हाइना पाइने देखाइएको थियो । तर, त्यसपछि भने हाइना कतै देखिएको छैन । पछिल्लो अध्ययनअनुसार नेपालमा हाइनाको संख्या करिब सयको हाराहारीमा रहेको अनुमान छ । 

कस्तो जनावर हो हुँडार ?
वन्यजन्तु विज्ञका अनुसार हुँडार मांसाहारी जनावर सामान्यतया कुकुरजस्तै देखिए पनि वैज्ञानिक दृष्टिले छुट्टै वर्गमा पर्दछ । अध्ययनका अनुसार अफ्रिका र एसियाका केही भू–भागमा बढी पाइन्छन् । बलियो जबडा, हाँसोजस्तै सुनिने आवाज र अनुशासित समूहमा बस्ने स्वभाव यसको प्रमुख पहिचान मानिन्छ । विशेषगरी हुुँडारलाई खुला स्थानमा मातृसत्तात्मक समूहमा बस्ने जनावरका रूपमा चिनिन्छ ।

विशेषज्ञहरूले हुँडारलाई प्रायः मृत जनावर खोजेर खाने जनावरका रूपमा बुझाइए पनि त्यसमा मात्र सीमित नरहेको बताएका छन् । उनीहरू अत्यन्तै सक्षम सिकारीसमेत भएको अध्ययनमा उल्लेख छ । अगाडिको खुट्टा लामो र पछाडिको छोटो भएकाले हुँडारको शरीर अघिल्तिर झुकेसरि देखिन्छ ।

शक्तिशाली जबडाका कारण हड्डीसम्म चुँडेर खाने क्षमताको संसारमै उदाहरणीय जनावरका रूपमा हुँडारलाई वैज्ञानिकहरूले वर्णन गरेका छन् । साथै, समूहभित्र सूचना आदानप्रदानका लागि निकालिने विशिष्ट आवाज यसको अर्को आकर्षक विशेषता मानिन्छ । यिनीहरू समूहमा सिकार गर्ने गर्दछन् । खरायो, स्याल, बाख्रा, हरिण, अर्ना, बँदेल खान रुचाउने हुँडारले विशेष अवस्थामा मान्छेमाथि समेत आक्रमण गरेर खाने गर्दछ । नेपाल सरकारले हुँडारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । यसलाई मार्न वा कुनै पनि प्रकारले हानी पु¥याउनु गैरकानुनी मानिन्छ । 

See More On

सुझावित समाचार