भारतले हिउँदमा १६ पुससम्म मात्रै आफ्नो ‘इनर्जी एक्सचेन्ज मार्केट’ अर्थात् आइइएक्सबाट विद्युत् खरिद गर्न पाउने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति पठाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (डेजिक्नेटेड अथोरिटी)ले गत साता प्राधिकरणलाई आइइएक्सबाट १,०५४ मेगावाट विद्युत् खरिद गर्न सक्ने गरी स्वीकृति दिएको हो । तर, यसमा म्याद भने ३१ डिसेम्बर अर्थात् १६ पुससम्म मात्रै रहेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले भारतको आइइएक्सबाट विद्युत् आयात गर्न पाउने अनुमतिको म्याद डिसेम्बर अन्तिम (१६ पुस)सम्म मात्रै भएको बताए । २४ घण्टा नै सोबराबरको विद्युत् आयात गर्न पाउने गरी अनुमति आएको उनको भनाइ छ । ‘गत साता भारतको डेजिक्नेटेड अथोरिटीले आइइएक्सबाट १,०५४ मेगावाट विद्युत् खरिद गर्न पाउने गरी स्वीकृति पठाएको छ । तर, त्यसको म्याद भने ३१ डिसेम्बरसम्म मात्रै छ,’ उनले भने, ‘त्यसपछिको अवस्थामा रिभ्यु गरेर मात्रै निर्णय गर्ने भारतीय पक्षको सन्देश छ ।’
सामान्यतः पुसपछि नै नेपाल विद्युत् आयात गर्ने अवस्थामा पुग्छ । त्यसमा धेरै विद्युत् आइइएक्सबाट खरिद गर्नुपर्छ । तर, पुस १६ गतेसम्म मात्रैको अनुमति आएपछि हिउँदको विद्युत् आपूर्तिमा अनिश्चितता देखिएको प्रवक्ता ढकालले बताए । ‘प्राधिकरणले आफ्नो तहबाट थप पहल गर्ने नै छ । अन्य कूटनीतिक पहल पनि आवश्यक हुन्छ,’ उनले भने, ‘हिउँदमा भारतमा पनि विद्युत्को उत्पादन कम हुन्छ । त्यसले गर्दा किस्ता–किस्तामा अनुमति दिन खोजेको देखिन्छ । पुस १६ गतेपछि विद्युत् आयात गर्न पाउने अनुमति पाउँछाैँ भन्नेमा ढुक्क छौँ । तर, अहिलेको जसरी २४ घण्टा नै विद्युत् आयात गर्न पाउने गरी स्वीकृति पाइन्छ कि पाइँदैन भन्नेमा डर छ ।’
नेपालले बर्खामा भारत र बंगलादेशमा विद्युत् निर्यात गरे पनि हिउँदमा आयात गर्नुपर्छ । नेपालमा अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना हुँदा बर्खामा जडित क्षमताबराबर नै विद्युत् उत्पादन हुन्छ, जुन वेला स्वदेशी माग धानेर निर्यात गर्नसम्म पुग्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा विद्युत् उत्पादन कम हुन्छ, यस्तो वेला स्वदेशी माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्छ । अहिले नेपालमा विद्युत्को जडित क्षमता ३८ सय मेगावाटभन्दा माथि छ । अधिकतम माग भने २२ सय मेगावाट हाराहारी छ । तर, हिउँदमा विद्युत्को उत्पादन न्यूनतम एक हजार मेगावाटसम्म झर्छ । त्यो वेला स्वदेशी माग धान्न भारतबाटै विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । सामान्यतः पुसदेखि जेठसम्म विद्युत् आयात गर्नुपर्छ ।
अहिले प्राधिकरणले भारतमा विद्युत् निर्यात गरे पनि आगामी मंसिरको अन्तिम वा पुस पहिलो साताबाट भारतबाटै आयात गर्नुपर्छ । गत वर्ष पुस ६ गतेबाट विद्युत् आयात गर्नुपरेको थियो । तर, यसपालि भारतको एक्सचेन्जबाट विद्युत् आयात गर्न पाउने अनुमतिको म्याद भने पुस १६ गतेसम्म मात्रै छ । जबकि, त्यसपछिको समयमा नेपाललाई विद्युत् आयात धेरै गर्नुपर्छ ।
प्राधिकरणका अनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ६ सय मेगावाट, बिहारबाट तीन सय मेगावाट, मैनिया–सम्पतिया अन्तरदेशीय प्रसारणलाइनबाट ५० मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी कुल १,०५४ मेगावाटसम्म विद्युत् एक्सचेन्ज मार्केटमा बिड गरेर खरिद गर्न पाउने गरी स्वीकृति आएको छ ।
भारतले गत वर्ष २० नोभेम्बरदेखि १५ मार्च (४ मंसिर– २ चैत)सम्म ६ सय ५० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको थियो । तर, त्यसवेला पिक आवरमा विद्युत् आयात गर्न नपाउने सर्त थियो । १६ मार्चदेखि ३० जुन (३ चैतदेखि १६ असार)सम्मका लागि भने बिहान ६ देखि साँझ ६ बजेसम्म (दैनिक १२ घण्टा) मात्रै ६ सय ५४ मेगावाट विद्युत् आयात गर्न स्वीकृत दिएको थियो । पछि विभिन्न पहलपछि राति ११ देखि बिहान चार बजेसम्म विद्युत् आयात गर्न पाउने सुविधा थप गरिएको थियो । यसपालि पनि त्यसैगरी स्वीकृति आउने आसमा प्राधिकरण छ । भारतले २४ घण्टा नै विद्युत् आयात गर्न नदिएको अवस्थामा विद्युत् कटौतीसम्म गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।
यसपालि कुलेखानी ड्याममा पानी भण्डारण पनि न्यून छ । कुलेखानी ड्यामको पानी प्रयोग गरेर निर्बाध एक सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिन्छ । तर, यसपालि ड्याममा पानी भण्डारण कम हुँदा त्यसबाट हुने उत्पादन पनि प्रभावित हुने देखिन्छ । यो वर्ष अर्धजलाशययुक्त आयोजनालाई नै बढी प्रभावकारी बनाइने प्रवक्ता ढकालले बताए ।
१७ पुसपछिको अवस्थामा विद्युत् आयात गर्न प्राधिकरणसँग पिटिसी इन्डियासँगको सम्झौता अर्काे विकल्प छ ।
प्रतियुनिट ६.९५ भारुमा एक सय ८० मेगावाट विद्युत् जनवरीदेखि मेसम्म खरिद गर्ने गरी पिटिसी इन्डिया सम्झौता गरिएको छ । यद्यपि, त्यसलाई पनि भारतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति गर्न बाँकी छ । त्यसमाथि महँगो दरमा सम्झौता गरिएको आरोप लागेको छ ।
यही अवस्थालाई लक्षित गर्दै पिटिसी इन्डियासँग एक सय ८० मेगावाट विद्युत् खरिद गर्ने सम्झौता गरेको प्रवक्ता ढकालले बताए । ‘आइइएक्सबाट खरिद गर्ने विद्युत्मा विगतका वर्षमा पनि दुःख पाएको हो । त्यसपछि अधिकतम मूल्य १० भारुसम्म पर्न जान्छ । तर, पनि विद्युत् पाउने ग्यारेन्टी हुँदैन,’ उनले भने, ‘त्यसैले पिटिसी इन्डियासँग जनवरीदेखि मेसम्म एक सय ८० मेगावाट विद्युत् खरिद गर्ने गरी प्रतियुनटि ६.९५ भारुमा सम्झौता गरेका हौँ । त्यो सम्झौता अवधिभर त्योबराबरको विद्युत् निरन्तर आपूर्ति हुन्छ । तर, अहिले त्यही सम्झौता गलत भयो भनेर भनिएको छ ।’
२४सै घण्टा विद्युत् आयातको स्वीकृति पाउनेमा शंका छ
राजन ढकाल, प्रवक्ता, विद्युत् प्राधिकरण
भारतको आइइएक्सबाट विद्युत् आयात गर्न पाउने अनुमतिको म्याद डिसेम्बर अन्तिमसम्म मात्रै छ । सो मितिसम्म २४ घण्टा नै सोबराबरको विद्युत् आयात गर्न पाउने गरी अनुमति आएको छ । गत साता भारतको डेजिक्नेटेड अथोरिटीले आइइएक्सबाट १,०५४ मेगावाट विद्युत् खरिद गर्न पाउने गरी स्वीकृति पठाएको छ । तर, त्यसको म्याद भने ३१ डिसेम्बरसम्म मात्रै छ, त्यसपछिको अवस्थामा रिभ्यु गरेर मात्रै निर्णय गर्ने भारतीय पक्षको सन्देश छ ।
हिउँदमा भारतमा पनि विद्युत्को उत्पादन कम हुन्छ । त्यसले गर्दा किस्ता–किस्तामा अनुमति दिन खोजेको देखिन्छ । पुस १६ गतेपछि विद्युत् आयात गर्न पाउने अनुमति पाउँछाैँ भन्नेमा ढुक्क छौँ । तर, अहिलेको जसरी २४ घण्टा नै विद्युत् आयात गर्न पाउने गरी स्वीकृति पाइन्छ कि पाइँदैन भन्नेमा शंका छ ।
विद्युत् बक्यौता विवादमा सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले डेडिकेटेड र ट्रंकलाइन विवाद समस्या समाधानका लागि सहजीकरण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएकी छिन् । १७ कात्तिकमा उद्योगीसँग भएको छलफलअनुसार बक्यौता समाधानका लागि सरलीकरण गर्न कार्कीले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतमले ऊर्जा मन्त्रालयलाई आइतबार पत्राचार गरेका छन् ।
पत्रमा भनिएको छ, ‘डेडिकेटेड ट्रंकलाइनको महसुल भुक्तानीलाई सरलीकरण गर्ने तथा पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सम्बन्धित उद्योग व्यवसायी एवं उद्योग वाणिज्य महासंघबिच सहमति गरी उद्योग सञ्चालनलाई सुचारु गर्न सम्बन्धित निकाय, उद्योगी–व्यवसायी र उद्योग वाणिज्य महासंघलाई समेत आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउनुहुन निर्देशानुसार अनुरोध छ ।’
प्रधानमन्त्री कार्कीको अग्रसरतामा भएको बैठकमा उद्योग वाणिज्य महासंघले बक्यौता रकमलाई किस्ताबन्दीमा बुझाउने र पहिलो किस्तालाई पुनरावलोकनमा जाँदा लाग्ने धरौटीबापत प्राधिकरणले बुझ्नुपर्ने प्रस्ताव गरेको थियो । सो प्रस्तावपछि बक्यौता तिर्नुपर्ने १२ उद्योगले प्राधिकरणलाई पहिलो किस्ता बुझाएका थिए । बक्यौता तिर्ने उद्योगहरू रिलायन्स, घराना फुड्स, एसआर फुड्स, गोयन्का फुड्स, भलवारी स्वचालित कारखाना, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, पञ्चकन्या स्टिल, सिद्धार्थ पेटप्लास्ट, श्याम प्लास्टिक, एभरेस्ट रोलिङ र त्रिवेणी सिन्थेटिक यार्न रहेका छन् ।
त्यस्तै, प्राधिकरणले लाइन काट्नुअघि नै तीन उद्योग हुलास, अशोक र हामा स्टिलले भने बक्यौताबापतको किस्ता बुझाएर लाइन जोडिसकेका थिए । प्राधिकरणका अनुसार हालसम्म विवादित उद्योगमध्ये १५ ले नियमित किस्ता बुझाउन थालेका छन् । ६ उद्योगले अदालतमा हालेको मुद्दा विचाराधीन छ भने बक्यौता तिर्न आनाकानी गरिरहेका १३ उद्योगमा प्राधिकरणले लाइन काटेको छ ।
बक्यौता तिर्न अटेरी गर्नेहरू भने ठुला उद्योग हुन् । प्राधिकरणका अनुसार शिवम्, घोराही, अर्घाखाँची, बुटवल, कसमस, एभरेस्ट, निगाले र विशाल सिमेन्टले बक्यौता नतिरेका कारण विद्युत् कटौती गरिएको छ । त्यस्तै, जगदम्बा स्टिल, हिमाल आइरन, त्रिवेणी स्पिनिङ, सोनापुर मिनरल एन्ड आयल र जगदम्बा सिन्थेटिकले पनि बक्यौता नतिरेका कारण बिजुली कटौती गरिएको छ ।