कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जीत निकालेका छन्।
लिगअन्तर्गत आइतबार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा लालीगुराँसले बर्दियाको जनजागृती युवा क्लबलाई ४–० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४–१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेका हुन्।
लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिक गरे। उनले खेलको १३औं, ९०औं र ९३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। लालीगुराँसका तर्फबाट थप एक गोल खेलको ४८औं मिनेटमा यम बहादुर श्रेष्ठ गरेका थिए। प्लेयर अफ दि म्याच लालीगुराँसका गुरुङ नै घोषित भए।
यसअघि लालीगुराँसले आफ्नो पहिलो खेलमा बुधबार कैलालीको विजय स्पोर्ट्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। लिगमा ३ खेल खेलेको जनजागृतीले दोस्रो हार व्यहोरेको छ। जनजागृती यसअघि शुक्रबार धनकुटाको देउराली युथ क्लबसँग ३–१ गोलले पराजित भएको थियो भने आइतबार सुर्खेतको काँक्रेविहारसँग १–१ गोलको बराबरी खेलेको थियो।
आइतबार भएको दोस्रो खेलमा विजय स्पोर्ट्सका लागि निराज चौधरी नायक बने। उनले खेलको १२औं, १४औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको ४७औं मिनेटमा अरोन थापाले थप एक गोल गरे। देउरालीका लागि खेलको २५औं मिनेटमा उज्वल राइले एक गोल फर्काएका थिए। प्लेयर अफ दि म्याच ह्याट्रिक पूरा गर्ने चौधरी घोषित भए।
लिगमा तीन खेल खेलेको विजय स्पोर्ट्सले पहिलो जीत निकालेको हो। यसअघि २ खेल बराबरी खेलेको थियो। विजय स्पोर्ट्स शुक्रबार लालीगुराँस एसोसिएसनसँग गोलरहित र शनिबार काठमाडौंको चित्लाङ एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो। समान ३ खेल खेलेको देउरालीले दोस्रो हार बेहोरेको हो। देउराली पहिलो खेलमा बुधबार चित्लाङसँग ४–१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा बर्दियाको जनजागृतीलाई ३–१ गोलले हराएको थियो।
लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन्। प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।