दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।
१ मंसिरबाट सुरु हुने एनपिएलको दोस्रो संस्करणका लागि ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले लेग स्पिनका जादुगर ताहिरलाई अनुबन्ध गरेको हो।
ताहिरसँग एक हजार खेलमा दुई हजार विकेट लिएको अनुभव छ। पाकिस्तानमा जन्मिएका ४६ वर्षे ताहिरले २० टेस्टमा ५७ विकेट, १०७ एकदिवसीय अन्तर्राष्ट्रियमा १७३ विकेट र ३८ टी–२० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन्। उनले सबैखाले ४४६ टी–२० मा ५७० विकेट लिएका छन्।
उनी २०११ को एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए। उक्त खेलमा उनले चार विकेट लिएका थिए। ताहिरलाई समावेश गरेपछि जनकपुर बोल्ट्सले आफ्नो बलिङ विभाग अझ मजबुत भएको जनाएको छ।
ताहिरले विश्वभरका सबै फ्रेन्चाइज लिग खेल्दै आफ्नो जादु देखाउँदै आएका छन्। उनले इंग्ल्यान्डका ६ टिमबाट टी–२०, दक्षिण अफ्रिकाका तीन फ्रेन्चाइज टिम र इन्डियन प्रिमियर लिगका तीन फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन्। उनले विश्वका कुल ५० टोलीबाट खेलिसकेका छन्।
ताहिर बोल्ट्सले यस सिजनको एनपिएलका लागि भित्र्याएको तेस्रो विदेशी खेलाडी हुन्। यसअघि नै टोलीले पहिलो संस्करण जित्दाका हिरो श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था र भेट्रान दक्षिण अफ्रिकी फास्ट बलर वायने पार्नेललाई अनुबन्ध गरिसकेको छ।
वेस्ट इन्डिज क्रिकेटका महान् हस्ती शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रनेछ।