तेस्रो संस्करणको सिई कर्पोरेट टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ।
काठमाडौं बुढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा शनिबार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले राष्ट्रिय वाणिज्य बैंकलाई पाँच विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेकाे हाे।
फाइनल जित्न पाएको ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले एक बल बाँकी हुँदा ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेकाे हाे। क्लाउड फ्याक्ट्रीका लागि ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन बनाए। यस्तै, सुबोध ढुंगेलले १५, चन्द्रकुमार राईले अविजित ११ तथा सविन डिसीले अविजित पाँच रन बनाए।
यसअघि टस हारेर ब्याटिङ गरेको राष्ट्रिय वाणिज्य बैंकले निर्धारित १० ओभरमा दुई विकेट गुमाएर ७२ रन बनाएको थियो। वाणिज्य बैंकका लागि ओपनर विवेक श्रेष्ठले सर्वाधिक ३१ रन बनाए भने कप्तान सुशील देवकोटाले अविजित २८ रन बनाए।
उपाधि विजेता क्लाउड फ्याक्ट्रीले एक लाख एक हजार रुपैयाँ तथा उपविजेता राष्ट्रिय वाणिज्य बैंकले ५० हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी क्लाउड फ्याक्ट्रीका सुबोध ढुंगेल घोषित भए। उनले १० हजार रुपैयाँ पाए। यस्तै, उत्कृष्ट ब्याटर सलिकोका स्पन्दन न्यौपाने, उत्कृष्ट बलर सिद्धार्थ बैंकका सञ्जीव मदैया, उत्कृष्ट विकरकिपर सिद्धार्थ बैंकका ब्रिजनन्दन तिवारी घोषित भए जसले समान पाँच हजार रुपैयाँ पाए। मस्ट चियर्ड टिमको अवार्ड एनएलजी इन्स्याेरेन्सले पायो।
यस्तै, फेयर प्ले टिमको अवार्ड हिमालयन एभरेस्ट इन्स्याेरेन्सले पायो। यस्तै, इनर्जेटिक टिमको अवार्ड सानिमा जिआइसी इन्स्याेरेन्सले पायो। सिई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्टसको सहकार्यमा दुई दिन चलेको प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागिता थियो।