जिपको ठक्करबाट टनकपुरमा एकको मृत्यु, तीन घाइते

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका– २, टनकपुरमा जिपले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । लु.२च २३५८ नम्बरको जिपको ठक्करबाट बर्दगोरिया गाउँपालिका– ६, कोटातुल्सीपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकिलमा सवार डगौरालाई आज बिहान जिपले ठक्कर दिएको हो । उक्त जिपको ठक्करले दुईजना साइकल यात्री र एकजना पैदलयात्रीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

घाइते हुनेहरूमा घोडाघोडी– २, साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया– ६, कोटातुल्सीपुरका ५४ वर्षीय हर्कबहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

दुर्घटनाग्रस्त जिपका चालक रोल्पाको त्रिवेणी गाउँपालिका– ४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकलाई कारबाहीको माग गर्दै घोडाघोडी– २, साडेपानीमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग केही समय अवरुद्ध गरेका थिए । स्थानीयसँगको छलफलपछि समयअघि राजमार्ग नियमित भएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।
 

सुझावित समाचार