झापा महिला गोल्डकप : उपाधि जित्न पुलिसले फेरि एपिएफसँग खेल्नुपर्ने

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण
  • एपिएफले सोमबार हुने फाइनलमा अर्काे विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसको गर्नेछ सामना 

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रथम झापा महिला गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार गोलकिपर अञ्जना रानामगर चम्किएपछि झापाको दुधे रंगशालामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । यसअघि भएको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । 

एपिएफले सोमबार हुने फाइनलमा पुलिसको सामना गर्नेछ । पुलिस शुक्रबार संकटा क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियोे । यसअघि यो दुई टोली राष्ट्रिय महिला लिगको फाइनलमा भेटेका थिए । जहाँ एपिएफले बाजी मारेको थियो । त्यसपछि लुम्बिनी कपमा पनि एपिएफले नै पुलिसलाई हराएको हो । दुधे रंगशालामा पुलिसलाई लगातार हारको बदला लिने अवसरसमेत छ । यता, एपिएफ भने महिला फुटबलमा आफ्नो दबदबा कायम राख्ने योजनामा देखिन्छ । एपिएफ दोस्रो सेमिफाइनलमा १–० ले पछि पर्दासमेत पुनरागमन गर्न सफल भएको थियो । 

एपिएफ पेनाल्टीमा विजयी 
अन्तिम सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकियो । यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा गोलकिपर अञ्जना रानामगर चम्किएपछि एपिएफ ४–२ ले विजयी भयो । पेनाल्टीमा एपिएफकी सविता रानामगर, रश्मिकुमारी घिसिङ, निशा थोकर र कप्तान अनिता बस्नेतले गोल गरे । रेनुका हमालको प्रहार भने आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन् । आर्मीबाट भने अनिता लम्जेल र विमला विकको प्रहार मात्र गोलमा परिणत भयो । विमला चौधरी र सुमिता चौधरीको प्रहार भने एपिएफकी गोलकिपर अञ्जनाले बचाएकी थिइन् । उनी नै खेलको प्लेयर अफ दी म्याच भइन् । 
घरेलु प्रतियोगितामा सफल महिला टिम एपिएफले पहिलो ११ मा सबै खेलाडी राष्ट्रिय टिमको सदस्यलाई समावेश गरेको थियो । तर, आर्मीले एपिएफमाथि खेलभर चुनौती सिर्जना गर्‍यो । आर्मीको आक्रामक खेललाई विफल बनाउन एपिएफलाई हम्मेहम्मे नै परेको थियो । 

निकै प्रतिस्पर्धात्मक अन्तिम सेमिफाइनल खेलमा सुरुवाती अग्रता भने आर्मीले लिएको थियो । खेलको ६४औँ मिनेटमा एपिएफकी गोलकिपर अञ्जनाले गल्ती गर्दा आर्मीकी चन्द्रा भण्डारीले गोल गरेकी थिइन् । तर, इन्जुरी समय सम्हालिन नसक्दा आर्मी हार व्यहोर्न बाध्य भयो । एपिएफकी कप्तान अनिता बस्नेतले फ्रिकिकमा गोल गर्दै खेललाई बराबरीमा फर्काइन् । करिब २२ यार्डमा आर्मीकी विमला चौधरीले बललाई हातले छोएपछि एपिएफले फ्रिकिक पाएको थियो । 

पहिलो ११ नै राष्ट्रिय टिमका सदस्य खेलाएको एपिएफमाथि आर्मीले बारम्बार चुनौती दियो । अनुभवी डिफेन्डर गीता रानाको अनुपस्थिति रहँदा आर्मीको आक्रामक खेललाई डिफेन्स गर्न एपिएफलाई हम्मेहम्मे परेको थियो । 

सुरक्षामा लापरबाही 
दुई विभागीय टोलीबिचकोे अन्तिम सेमिफाइनल खेलमा दुधे रंगशालामा दर्शक भरिभराउ थिए । १३ हजार दर्शक क्षमताको अस्थायी र स्थायी प्यारापिटमा दर्शक भरिएका थिए । कति दर्शक उभिएरै खेल हेर्न बाध्य थिए । जब खेलको अतिरिक्त समयमा एपिएफले गोल गर्‍यो तब दर्शक मैदानमै पुगे । पेनाल्टी सुटआउटमा एपिएफले जित निकालेसँगै दर्शकको भिड सीधै मैदानमा प्रवेश गरेर खेलाडीसँग मिसिएका थिए । 

जसले खेलाडीको सुरक्षामा खतरा उत्पन्न भएको थियो । त्यसअघि दर्शकलाई व्यवस्थित स्थानमा राख्न नसक्दा खेल नै पाँच मिनेटभन्दा बढी गरी ढिला सुरु भएको थियो । फोर्थ अफिसियललाई बाधा पुर्‍याएपछि खेल केही ढिला गरी सुरु भयो । मैदानमा आयोजकले सुरक्षाकर्मी र स्वयमंसेवक खटाए पनि उनीहरूले भिड नियन्त्रण गर्न सकेनन् । जसले गर्दा खेलाडीको सुरक्षालाई लिएर प्रश्न उठ्न थालेको छ । 

विजेतालाई दश लाख 
प्रतियोगिताको विजेताले नगद दश लाख दश हजार प्राप्त गर्नेछ भने उपविजेताले नगद पाँच लाख पाउनेछ । जसलाई आयोजकले घरेलु महिलो फुटबल प्रतियोगिताकै सर्वाधिक राशि दाबी गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

See More On

सुझावित समाचार