मध्यपहाडी लोकमार्गले सास्ती दिएपछि स्थानीय आक्रोशित

शनिबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण
मध्यपहाडी लोकमार्गले सास्ती दिएपछि स्थानीय आक्रोशित

बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्ड समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले आलटाल गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई स्थानीयले लामो समयदेखि निर्माणाधीन लोकमार्ग पटक–पटक म्याद थप्ने, ठेक्का तोडेर नयाँ ठेकेदारसँग सम्झौता गर्ने, तर निर्माणले गति लिन नसक्ने समस्या रहेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रजिअ गुरुङलाई बुझाएको ज्ञापनपत्रमा मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडकखण्ड विगत ३० वर्षयता अत्यन्तै जोखिमपूर्ण यात्राको मार्ग बन्दै आएको र पटक–पटक निर्माण व्यवसायीको म्याद थप गरे पनि काम नसकिएको उल्लेख छ । काठेखोला गाउँपालिका– ५ र ६ बिहुँवासीको तर्फबाट वडाध्यक्ष ज्ञामनाथ कँडेल र बृहस्पति कँडेलको नेतृत्वमा गएको टोलीले निर्माण व्यवसायीको लापरबाहीबारे जानकारी गराएका थिए । 

‘यस खण्डको बजेट निकासा लिने, तर अन्यन्त्र काम गर्ने निर्माण व्यवसायीको स्वभावले हाम्रो क्षेत्रमा सडकको काम हुन नसकेको हो,’ ज्ञापनपत्रमा भनिएको छ । मध्यपहाडी लोकमार्ग पर्वत शाखा कार्यालयको जानकारीअनुसार हालसम्म बयलडाँडा घोडाबाँधे खण्डमा भौतिक प्रगति १२–१५ प्रतिशत मात्र रहेको र ०८१ असारमा सम्झौता गरी ०८३ असारमा सम्पन्न गर्ने गरी नयाँ ठेक्का सम्झौता भएको छ । तर, नयाँ ठेक्का सम्झौता गरेको रिजाल तामाङ भगवती जेभीले अहिलेकै गतिमा काम गर्दा आठ वर्षमा पनि निर्माण नसकिने भन्दै स्थानीयले प्रजिअको ध्यानाकर्षण गराएका छन् ।

प्रजिअको अध्यक्षतामा सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, स्थानीय, मध्यपहाडी लोकमार्गका इन्जिनियर सम्मिलित अनुगमन समिति बनाएर कामलाई तीव्रता दिनुपर्ने, मासिक रूपमा कामको प्रगति समीक्षा गर्नुपर्ने, वरिपरिका घरहरूमा धुलोले बस्न नसक्ने भएको हँुदा सडकमा दैनिक पानी छर्ने व्यवस्था गर्नुपर्ने माग पूरा नभए १ मंसिरबाट सो सडकखण्ड बन्द गराउने चेतावनीसमेत स्थानीयले दिएका छन् ।

नयाँ ठेक्का सम्झौतापछि पनि कामले गति नलिएपछि आन्दोलनको तयारी थालिएको काठेखोला– ५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले बताए । ‘पहिलेकै ठेकेदारले समयमै काम गरोस् भनेर स्थानीयले पैसासमेत दिएका थिए, तर उसले काम गरेन र ठेक्का तोडियो । अहिले नयाँ आएको ठेकेदारको पनि चाला उस्तै छ,’ उनले भने, ‘यसले गर्दा गाउँमा स्थानीय एकदमै आक्रोशित छन् ।’ 

सुझावित समाचार